लोक आवाज,
जनकपुरधाम, भदौ २ । भगवान श्रीकृष्णको जन्मोत्सवको अवसरमा सोमबार जनकपुरधामसहित आसपासका गाउँ–गाउँमा धार्मिक उत्सव, पूजा–पाठ र भव्य मेलासहित कृष्ण जन्माष्टमी पर्व उल्लासपूर्वक मनाइएको छ।
जनकपुरधामको प्रमुख धार्मिक स्थल कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो। त्यस्तै, रेल्वे स्टेशन क्षेत्र, जिरोमाइल, भ्रमरपुरा चोकलगायतका स्थानहरूमा आकर्षक मेला तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना भएका थिए। विशेषगरी रेल्वे स्टेशन क्षेत्रमा स्थानीय स्टेशन एरिया युवा समितिको अगुवाइमा परम्परागत रूपमा देवी–देवताको पार्थिव मूर्ति स्थापना गरी भव्य मेला सञ्चालन गरिएको थियो। यस क्रममा विभिन्न धार्मिक झाँकी प्रदर्शन, भजन–कीर्तन र सामूहिक आरतीसमेत गरिएको थियो।
हिन्दू परम्परा अनुसार, भाद्र कृष्ण अष्टमी तिथिको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ। धर्म, नीति र नैतिकताको रक्षा गर्ने उद्देश्यले द्वापरयुगमा देवकीको कोखबाट कृष्णले अवतार लिएको धार्मिक विश्वास रहिआएको छ। सोही स्मरणमा भक्तजनहरूले श्रद्धा, भक्ति र उल्लासका साथ पर्व मनाएका थिए।
कृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधामभर विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो। स्थानीय प्रशासनले भीडभाड हुने स्थानहरूमा सुरक्षाकर्मी परिचालन गरेको थियो भने धार्मिक समितिहरूले भक्तजनलाई सहज वातावरणमा पूजा–अर्चना गर्न आवश्यक तयारी गरेका थिए।
कृष्ण जन्माष्टमी पर्वले समाजमा सत्य, अहिंसा, धर्म र न्यायको सन्देश दिनुको साथै धार्मिक सद्भाव र एकता प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।




प्रतिक्रिया !