लोक आवाज ,
जनकपुरधाम, १ भदौ । जनकपुरधाममा पत्रकारमाथि भएको सांघातिक आक्रमणका दोषीलाई अझैसम्म पक्राउ नगरेपछि पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि एक घण्टा लामो शान्तिपूर्ण धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा गरिएको उक्त धर्नामा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशले केन्द्रीय गुठी संस्थानसँग विधिसम्मत रूपमा सम्झौता गरी ४ कठ्ठा जग्गा लिजमा लिएको थियो। सम्झौताअनुसार कार्यालय निर्माण कार्य अघि बढाइरहँदा नेपाल बार एसोसिएशन जनकपुरका केही वकिलहरूले सो जग्गा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै आपत्ति जनाउँदै विवाद सिर्जना गरेका थिए। विवादकै क्रममा गत साउन २७ गते ती वकिलहरूको समूहले अकस्मात आक्रमण गरी पत्रकारलाई लक्षित गर्दै हिंसात्मक व्यवहार गरेका थिए।
सो आक्रमणमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका थिए। घाइते पत्रकारहरूको तत्काल उपचार भएपनि घटनाले सम्पूर्ण पत्रकार समुदायलाई स्तब्ध बनाएको थियो।
घटनापछि पत्रकार महासंघले आक्रमणकारीको पहिचान गरी किटानी जाहेरी दर्ता गराए पनि प्रशासनले दोषीलाई अहिलेसम्म पक्राउ नगरेको आरोप लागेको छ। यसैका विरोधस्वरूप आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म पत्रकार महासंघ धनुषाले जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना आयोजना गरेको हो।
धर्नामा सहभागी नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले प्रशासन दोषीलाई संरक्षण गरिरहेको आरोप लगाउँदै भने,
“हाम्रा साथीहरू घाइते भए, हामीले किटानी जाहेरी दिए पनि प्रहरी प्रशासनले कुनै कारबाही गरेन। बाध्य भएर हामी धर्नामा बस्यौं। यदि हाम्रा माग पूरा भएन भने हामी थप कठोर आन्दोलनमा उत्रनेछौं।”
यसैगरी, महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जाराले पत्रकार समुदायले अहिलेसम्म संयमता अपनाएको तर प्रशासनको निष्क्रियताले अवस्था गम्भीर बन्दै गएको बताए। उनले भने,
“देशव्यापी आन्दोलन नहोस् भनेर हामीले संयम अपनाएका थियौं। तर, यदि प्रशासनको भूमिका यस्तै अलोकतान्त्रिक रह्यो भने अब हामी चुप लागेर बस्दैनौं।”

पत्रकार महासंघले आजको धर्नालाई पहिलो चरणको दबाबमूलक कार्यक्रमको रूपमा लिएको छ। अध्यक्ष साहका अनुसार, दोषीलाई छिट्टै पक्राउ गरी कारबाही नगरिए महासंघले चरणबद्ध कार्यक्रमसहित आन्दोलनलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी गरेको छ।
यस घटनाले पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रता र विधिको शासनबारे गम्भीर प्रश्न खडा गरेको छ। पत्रकार महासंघका पदाधिकारीले यसलाई प्रेसमाथिको योजनाबद्ध आक्रमणको रूपमा व्याख्या गर्दै दोषीलाई कारबाही नगरेसम्म कुनै पनि हालतमा पछि नहट्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया !