प्रधानमन्त्री ओलीको आरोप : “गणतन्त्र विरोधीहरुले देशलाई अँध्यारो युगमा धकेल्न खोज्दै”

प्रधानमन्त्री ओलीको आरोप : “गणतन्त्र विरोधीहरुले देशलाई अँध्यारो युगमा धकेल्न खोज्दै”

 

लोक आवाज ,

जनकपुरधाम, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र विरोधी शक्तिहरू देशलाई पुनः अँध्यारो युगमा फर्काउन षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ। मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक व्यवस्था अप्रिय लाग्नेहरूले मुलुकलाई पछाडि धकेल्ने प्रयास गरिरहेको बताउनुभयो।

उहाँले स्मरण गराउनुभयो कि नेपाली जनताले राणा शासन, राजतन्त्र र पञ्चायती व्यवस्थाको कष्टपूर्ण इतिहास भोगेका छन् र लामो संघर्ष र बलिदानपछि वर्तमान गणतान्त्रिक व्यवस्था स्थापना भएको हो। “राजतन्त्र र राणा शासन उस्तै-उस्तै थिए, नेपाली जनतालाई थाहा छ, त्यसैले नेपाल अब त्यो अँध्यारो व्यवस्थामा फर्कनु हुँदैन,” उहाँको भनाइ थियो।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गणतन्त्रको आलोचना गर्ने राजनीतिक दल तथा नेताहरूलाई पनि कटाक्ष गर्नुभयो। उहाँले रास्वपा, राप्रपा जस्ता दलसँगै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत लक्षित गर्दै टिप्पणी गर्नुभयो। “आज सरकार ढल्छ, भोलि सरकार ढल्छ भन्नेहरू थाकिसकेका छन्। सरकार ढल्ने सारंगी बजाउनेहरूको सारंगीको तार टुटिसकेको छ,” उहाँले व्यंग्य गर्दै भन्नुभयो।

प्रधानमन्त्री ओलीले कांग्रेस–एमाले गठबन्धनले मुलुकलाई स्थायी सरकार दिएको दाबी गर्दै वर्तमान सरकारले आर्थिक समृद्धि र विकासको दिशा लिने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँका अनुसार स्थिरता र एकताको माध्यमबाट मात्र देशको दीर्घकालीन हित सुनिश्चित गर्न सकिन्छ।

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सुशासन स्थापना गर्ने सवालमा सबै पक्षको सक्रियता आवश्यक रहेको औंल्याउनुभयो। भ्रष्टाचार नियन्त्रण, छिटोछरितो सेवा प्रवाह र जनतालाई बिना झन्झट सुविधा दिने प्रशासनिक प्रणालीको विकास अनिवार्य भएको उहाँको भनाइ थियो।

मधेस प्रदेश प्रहरीको भवन निर्माणले जनसेवामा थप सहजता ल्याउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आधुनिक संरचना र प्राविधिक सुविधाले सुरक्षा निकायको कार्यक्षमता बढाउने उल्लेख गर्नुभयो। “यस भवनसँगै प्रहरी सेवाको पहुँच र गुणस्तर दुवैमा सुधार हुनेछ,” उहाँले जोड दिनुभयो।

उद्घाटन कार्यक्रममा मधेस प्रदेशका उच्च अधिकारी, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले स्थायी संरचनाले संस्थागत क्षमता वृद्धि र जनविश्वास कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेमा एकमत व्यक्त गरे।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार