सुनिल कुमार साह ,
जनकपुरधाम, २७ साउन । जनकपुरधाममा वकिल र पत्रकारबीचको जग्गा विवाद हिंसात्मक रुप लिँदा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्षसहित आधा दर्जन पत्रकार घाइते भएका छन्।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठी संस्थानसँग लिजमा लिएको ४ कट्ठा जग्गा कब्जा गर्दै वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका हुन्।
आक्रमणमा परेर महासंघका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर रायसहित करिब आधा दर्जन पत्रकार घाइते भएका छन्। घाइते पत्रकारहरूलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
आक्रमणबाट महासचिव क्रान्तिको पैताला भाँचिएको छ भने अध्यक्ष बन्जाराको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। पत्रकार दिवाकर रायको टाउकोमा चोट लागेको छ।
भूतनाथ महादेवको दक्षिणतर्फ रहेको ४ कट्ठा जग्गा नेपाल पत्रकार महासंघले गुठी संस्थानसँग वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा २० वर्षका लागि लिजमा लिएको हो। महासंघले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर सम्झौता गरेको दाबी गरेको छ।
तर, नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै सोही स्थानमा २१ गतेदेखि वकिलहरूको गाडी पार्किङ गरिने घोषणा गरेको थियो। यसपछि दुवै पक्षबीच विवाद सुरु भएको हो।
महासंघका अध्यक्ष श्याम बन्जाराले “सम्झौता भएको केही समयमै विभिन्न प्रकारको अवरोध सुरु भएको” बताए। उनका अनुसार बारतर्फबाट यो स्थानमा कुनै पनि संरचना बनाउन नदिने र पहुँच सीमित राख्ने पूर्वाग्रहपूर्ण व्यवहार भएको छ।
अध्यक्ष बन्जाराले दुवै पक्षबीच मौखिक सहमति भइसकेको दाबी गरे। “हामीले यो जग्गाको पछाडि रहेको अर्को खाली जग्गा लिने र बाटोको समस्या भए समाधान गर्ने भन्ने मौखिक सम्झौता भइसकेको थियो,” उनले भने, “तर, अनावश्यक रुपमा किचलो सिर्जना गरिएको छ।”
उनका अनुसार हिजो मात्र यो विषयमा अदालतमा रिट दायर भएको जानकारी पाएको र भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।
“विद्वान अधिवक्ताले यस्तो व्यवहार गर्नु, त्यो कानुनी पेशाकै गरिमामाथि प्रश्न उठ्ने खालको घटना हो,” अध्यक्ष बन्जाराले भने, “कानुनी प्रक्रिया पूरा गरेर पाएको जग्गा कसैले आफ्नो भन्नु स्वीकार्य छैन।”
महासंघले सो स्थानमै प्रदेशको भवन निर्माण गर्ने योजना बनाएको र विवादको टुङ्गो भदौ ५ गते लाग्ने विश्वास रहेको पनि उनले बताए।
महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’का अनुसार जेठ ७ गते गोरखापत्रमा ३ वटा जग्गा लिजका लागि सूचना प्रकाशित भएको थियो। विभिन्न संघ–संस्थाले प्रस्ताव पेश गरे पनि प्राविधिक र आर्थिक प्रस्ताव मूल्यांकनपछि महासंघको प्रस्ताव पास भएको हो।

गुठी संस्थानले साउन २ गते गोरखापत्रमार्फत महासंघलाई जग्गा पाएको सूचना सार्वजनिक गरेको र साउन ९ गते सम्झौताको लागि पत्र पठाएको उनले बताए। त्यसपछि साउन १९ गते औपचारिक सम्झौता सम्पन्न भएको थियो।
महासचिव क्रान्तिले “अर्काको प्रस्ताव फेल भएपछि महासंघले प्रक्रिया अनुसार जग्गा पाएको” भन्दै वकिलतर्फबाट गरिएको कब्जा प्रयास गैरकानुनी भएको आरोप लगाए।
यस घटनापछि पत्रकार महासंघ मधेश प्रदेशले आक्रमणमा संलग्नहरूमाथि कानुनी कारबाहीको माग गरेको छ।




प्रतिक्रिया !