सुनिल कुमार साह ,
लोक आवाज , जनकपुरधाम , २६ साउन। कमला नगरपालिका–१ का सयौं किसान अहिले गम्भीर संकटमा परेका छन्। असारमा वर्षा नपर्दा दमकल र निजी बोरिङको सहायताले सिचाइ गरी धान रोपेका उनीहरूको खेत अहिले एक व्यक्तिको निजी स्वार्थका कारण डुबानमा परेको छ। बाली पूर्ण रूपमा नष्ट हुने स्थितिमा पुगेपछि किसान चिन्ताले रात निन्द्राविहीन र दिन उदास बिताउन बाध्य भएका छन्।
स्थानीय किसानहरूले बताएका छन् कि यो समस्या नयाँ होइन। “बिगत चार वर्षदेखि यस्तै समस्या झेल्दै आएका छौं, तर कसैले स्थायी समाधान खोजिदिएको छैन,” किसानले दुखेसो पोखे। उनका अनुसार हरेक वर्ष कहिले पानीको अभाव त कहिले अनियन्त्रित पानीको कारण बाली नष्ट हुन्छ।
यस वर्ष असारमा पर्याप्त वर्षा नभएपछि किसानहरूले खेत सिचाइ गर्न दमकल र निजी बोरिङको सहारा लिनु परेको थियो। मेहनत, समय र ठूलो खर्च गरेर लगाएको धान अहिले पानीको निकास रोकिएकाले जलमग्न भएको छ। किसानहरूका अनुसार एक व्यक्तिले आफ्नो व्यक्तिगत फाइदाका लागि पानीको बहाव रोकेका कारण सयौं बिघा खेतमा पानी जमेको हो।
समस्याबारे किसानहरूले वार्ड अध्यक्ष, नगर प्रमुख, प्रदेश सांसददेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ) सम्मलाई पटक–पटक जानकारी गराएका छन्। तर, उनीहरू भन्छन्, “सबैले आश्वासन मात्र दिए, समस्या समाधान भने आजसम्म कसैले गरेन।”
उता, केन्द्र सरकारले भने सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै ५०० वटा स्टेट बोरिङ उपलब्ध गराएको बताइएको छ। तर विडम्बना — त्यही क्षेत्रमा बाली लगाइसकेका सयौं किसान अहिले डुबानको मारमा छन्।
“हामीलाई कोही सुनिदिने अवस्था छैन,” किसानहरुले आँसु पुछ्दै भने, “यदि कोही यो समस्या समाधान गरिदियो भने हामी भगवानझैँ पूजा गर्न तयार छौं।” किसानहरूले तत्काल पानी निकासको व्यवस्था गर्न आग्रह गरेका छन्।
स्थानीय बासिन्दाले भने, कृषि मुख्य जीविका भएको क्षेत्रमा यसरी किसानको मेहनत र लगानी पानीमा बगाउनु ठूलो अन्याय भएको बताएका छन्। उनीहरूले नगरपालिकाले तत्काल सर्वपक्षीय बैठक बोलाएर स्थायी समाधानको योजना बनाउनुपर्ने माग गरेका छन्।

चार वर्षदेखि निरन्तर दोहोरिएको समस्या समाधान गर्न नगर र प्रदेश सरकारको उदासीनताप्रति किसानहरू आक्रोशित छन्। “हामीले नेताहरूलाई भोट दिएको हाम्रो गल्ती हो जस्तो लाग्छ,” एक वृद्ध किसानले भने, “उनीहरू कुर्सीमा पुगेपछि हाम्रो पीडा सुन्ने फुर्सद छैन।”





प्रतिक्रिया !