लोक आवाज,
जनकपुरधाम , २५ साउन । धनुषाको ढल्केवरस्थित ‘मौसम होटल’का सञ्चालक वेश्यावृत्ति सञ्चालन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय युवाहरूको पहलमा बिहीबार राति करिब ९ बजे गरिएको छड्केपछि आपत्तिजनक गतिविधि फेला परेको हो।
स्थानीय सचेत युवाहरूले लामो समयदेखि होटलभित्र खुलेआम अवैध यौन क्रियाकलाप भइरहेको आशंका गर्दै अनुगमन गर्ने योजना बनाएका थिए। सो योजना अनुसार बिहीबार राति केही युवाहरू समूहगत रूपमा होटलमा प्रवेश गरेर जाँच गरेका थिए। छड्के क्रममा होटलका कोठामा ग्राहक र महिलाबीच यौनजन्य गतिविधि भइरहेको प्रमाण फेला परेपछि उनीहरूले तत्कालै प्रहरीलाई खबर गरेका थिए।
तर, स्थानीयको दाबीअनुसार, प्रहरी अधिकारीहरूले घटनास्थलमा पुगेर संलग्न व्यक्तिहरूलाई भगाएको आशंका गरिएको छ। “प्रहरीले महिनावारी रकम असुल्ने गर्छन्, पैसा खाएपछि त्यस्ता धन्दामा संलग्नलाई पक्राउ गर्दैनन्,” नाम नखुलाउने शर्तमा एक स्थानीय युवकले भने, “अब हामी चुप लागेर बस्दैनौं, यस्ता गतिविधि लखेट्नै पर्छ।”
युवाहरूको भनाइअनुसार, यस्ता क्रियाकलाप वर्षौंदेखि प्रहरीको मौन समर्थनमा ढल्केवर, जोमनिवास र गोदार हाइवे क्षेत्रमा भइरहेका छन्। स्थानीय बासिन्दाले यसले समाजमा गलत सन्देश फैलाइरहेको भन्दै नियन्त्रणका लागि प्रहरी प्रशासनलाई पटक–पटक सचेत गराए पनि ठोस कदम नचालिएको आरोप लगाएका छन्।
यस पटक, छड्केमा संलग्न युवाहरूले प्रमाणका रूपमा भिडियो समेत खिचेका छन्। सो भिडियोमा होटल सञ्चालकले ग्राहकसँग दररेट तोक्दै ‘तीन हजारको छ, २५ सयको छ, जस्तो चाहियो लिनुस्’ भन्ने दृश्य देखिन्छ। सोही भिडियोका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरले होटल सञ्चालकलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय ढल्केवरका एक अधिकारीका अनुसार, सञ्चालकलाई अवैध धन्दाको मोलमोलाइ गरेको स्पष्ट प्रमाण भेटिएको छ। “इन्सपेक्टर साब विदामा हुनुहुन्छ, भोलि आएपछि थप कारबाहीबारे निर्णय हुनेछ,” अधिकारीले जानकारी दिए।
यस घटनापछि स्थानीय युवाहरूले सामाजिक सञ्जालमा प्रमाण सार्वजनिक गर्ने र प्रहरी प्रशासनलाई दबाब दिने तयारी गरेका छन्। उनीहरूका अनुसार, यदि यसपटक पनि मुद्दा दर्ता नगरी आरोपीलाई छाड्ने काम भयो भने, आन्दोलन गर्ने चेतावनी दिइएको छ।
वेश्यावृत्ति नेपालमा गैरकानुनी भएको र यस्तो कार्यमा संलग्न हुने, सुविधा उपलब्ध गराउने वा मध्यस्थता गर्ने सबैलाई कानूनी सजायको प्रावधान भए पनि व्यवहारमा कानुनको कार्यान्वयन कमजोर रहेको स्थानीयको गुनासो छ।
समाजशास्त्रीहरूको भनाइमा, यस्ता अवैध क्रियाकलापहरू रोक्न प्रहरीको सक्रियता मात्र नभई स्थानीय स्तरमा सचेतना र समुदायको सहभागिता पनि अपरिहार्य हुन्छ। ढल्केवरमा भएको पछिल्लो घटना यसैको उदाहरण हो, जहाँ स्थानीय युवाहरू आफैं अगाडि आएर छड्के गरेका छन्।
यसबीच, प्रहरीले घटना बारे थप अनुसन्धान अघि बढाएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र थप विवरण सार्वजनिक गर्ने जनाएको छ।




प्रतिक्रिया !