काठमाडौँ, साउन २५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा सिँचाइको दीर्घकालीन समाधानका लागि सरकार दृढ रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिंदै उनले यस उपलब्धिमा खुशी व्यक्त गरे र आगामी वर्षदेखि आकासे पानीमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने योजना अघि बढाइने घोषणा गरे।
प्रधानमन्त्री ओलीका अनुसार, पछिल्ला वर्षहरूमा सुक्खाले अन्न भण्डारका रूपमा परिचित तराईका खेतहरूमा गम्भीर असर पारेको छ। पानीको अभावका कारण कतिपय क्षेत्रमा रोपिएको बिउसमेत सुक्न थालेको भन्दै उनले सरकारद्वारा ती स्थानहरूलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको र राहत तथा सहयोग कार्यक्रम अघि बढाइएको स्मरण गराए।
उनले भने, “अब किसानको पसिना माटोमै सुक्ने अवस्था अन्त्य गर्न हामी कटिबद्ध छौं। स्थायी सिँचाइ प्रणाली विकासका लागि ठोस कदम चालिन्छ।” तत्कालका लागि ५०० डिपबोरिङ जडान सुरु गरिएको उल्लेख गर्दै उनले दीर्घकालीन योजनाअन्तर्गत सुनकोसी–मरिन डाइभर्सन योजना अघि बढाइएको जानकारी दिए।
ओलीले थपे कि हालको मौसमी परिवर्तनले केही राहत मिलेको छ। “प्रकृतिले पनि पछिल्लो साता हामीलाई साथ दिएको छ। अहिले धान रोपाइँले गति लिएको छ र केही दिनमै तराई हरियालीले भरिनेछ,” उनले भने।
प्रधानमन्त्रीले यस वर्षको रोपाइँमा किसान, विशेषगरी महिलाको सक्रिय सहभागिताको प्रशंसा गर्दै कृषकहरूको मेहनत र समर्पणप्रति आभार प्रकट गरे। उनले कृषि उत्पादन वृद्धिमा सिँचाइ पूर्वाधारको महत्वलाई जोड दिँदै, उत्पादनशीलता बढाउन सरकारले आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याए।
यससँगै उनले जलस्रोतको दीर्घकालीन उपयोगका लागि आधुनिक प्रविधि र योजनाबद्ध विकासको आवश्यकता औंल्याए। सिँचाइ सुविधा पुगेपछि मात्र किसानहरू मौसमको अनिश्चितताबाट सुरक्षित हुने र खाद्यान्न उत्पादनमा स्थिरता आउने उनको विश्वास छ।
तराई क्षेत्रमा देखिएको पानीको समस्या समाधानका लागि सरकारले अविलम्ब र दीर्घकालीन दुवै योजना लागू गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ। तत्कालका कार्यक्रमहरूबाट रोपाइँमा सहजता ल्याउने र दीर्घकालीन योजनाबाट कृषि उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्य राखिएको छ।
सरकारको यो प्रतिबद्धता कार्यान्वयन भएमा तराईका किसानहरूलाई हरेक वर्ष सिँचाइ संकट भोग्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !