सर्लाही ।
सर्लाहीको बलरा नगरपालिका–१ मा गएको शनिबार राति मदिरा सेवनका क्रममा भएको विवाद चक्कु प्रहारसम्म पुग्दा तीन जना गम्भीर घाइते भएका छन् । घटनामा परेका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय बलराका अनुसार, घटनाको क्रममा धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको छ । अवस्था गम्भीर देखिएपछि तीनै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घटना शनिबार राति करिब ९ बजे भएको हो । सो समयमा दुई समूहबीच मदिरा सेवनका क्रममा वादविवाद सुरु भएको र परिस्थिती चर्किएपछि झडपमा परिणत भएको बताइएको छ । झडपका क्रममा एक समूहले अर्को समूहलाई लक्षित गरी धारिलो हतियार (चक्कु) प्रयोग गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पहिचान गरेको छ । उनीहरू भारतको विभिन्न स्थानमा बसोबास गर्दै आएका अमन सिंह, बिकास सिंह, अटल राय र अवशेख सिंह भएको प्रहरीले जानकारी दिएको छ । हाल उनीहरू सबै फरार रहेका र पक्राउ गर्न सर्लाही प्रहरी र सीमावर्ती भारतीय सुरक्षा निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार, बलरा क्षेत्रमा यस्ता विवाद र झडपका घटना विगतमा पनि पटक–पटक हुने गरेका छन् । मदिरा सेवनपछि हुने समूहगत वादविवादले हिंसात्मक रूप लिन थालेको भन्दै स्थानीयले सुरक्षा व्यवस्थामा कडाइ गर्न माग गरेका छन् ।
यसबीच, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र दोषीलाई शीघ्र पक्राउ गरिने जनाएको छ ।




प्रतिक्रिया !