वैदेशिक रोजगारीको झुटो बहानामा भारत लैजाँदै गरेका सात नेपाली किशोरी भारतीय सीमाबाट उद्धार

 वैदेशिक रोजगारीको झुटो बहानामा भारत लैजाँदै गरेका सात नेपाली किशोरी भारतीय सीमाबाट उद्धार

 

काठमाडौँ, १७ साउन ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरिएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरेको छ । माइती नेपालका अनुसार ती किशोरीहरूलाई भारतको सिलिगुढी हुँदै हङ्कङ लैजाने बहानामा भारत पु-याइएको थियो ।

उद्धार गरिएका सबै किशोरीहरू संखुवासभा जिल्लाकी हुन् । भारत लैजाने क्रममा संलग्न दुई जना पुरुषलाई भारतीय प्रहरीले मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना भारतको दार्जीलिङस्थित तोरीबारी निवासी ४१ वर्षीय दिपेश गुरुङ र अर्का संखुवासभा मकालु–३ निवासी ६१ वर्षीय जपन गुरुङ रहेको माइती नेपाल कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार, ती किशोरीहरूलाई वैदेशिक रोजगारीको लागि भनेर नेपालको काँकडभिट्टा नाका हुँदै भारतको पानीटङ्की क्षेत्रमा लैजाने क्रममा भारतीय प्रहरीले पक्राउ गरेको हो । अभियुक्तहरूले किशोरीहरूका लागि आधार कार्ड लगायत नक्कली कागजात बनाएर हङ्कङ लैजान तयारी गरिरहेको अवस्थामा सिलिगुढी क्षेत्रमा पुगेपछि उनीहरू शंकास्पद देखिएर भारतीय प्रहरीले सोधपुछ गरेको थियो ।

उनीहरूको बयान र साथमा रहेका कागजातहरूको आधारमा मानव तस्करीको आशंका भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल किशोरीहरूलाई भारतीय प्रहरीले पश्चिम बंगालको खोरीबारी प्रहरी थानामा राखेको छ भने कानुनी प्रक्रिया मिलाएपछि नेपाल फिर्ता गरिने जनाइएको छ ।

उद्धारपश्चात माइती नेपालको टोली संयोजक घिमिरेको नेतृत्वमा किशोरीहरूलाई लिन पानीटङ्की पुगे पनि कानुनी प्रकृया पूरा नगरेसम्म फिर्ता दिन नसकिने भन्दै भारतीय प्रहरीले उनीहरूलाई खोरीबारीमै राखेको हो । यस विषयमा नेपाल प्रहरीलाई औपचारिक जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

माइती नेपालका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी र राम्रो जीवनस्तरको सपना देखाएर किशोरीहरूलाई भारतमार्फत अन्य देश लैजाने मानव तस्करीको घटना दोहोरिइरहेको छ, जसमा सीमा क्षेत्रमा कडा निगरानी आवश्यक देखिएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार