नाउपाका नयाँ अध्यक्ष लालवीर चौधरीद्वारा रञ्जिता श्रेष्ठलाई विधिसम्मत हटाएको दाबी

नाउपाका नयाँ अध्यक्ष लालवीर चौधरीद्वारा रञ्जिता श्रेष्ठलाई विधिसम्मत हटाएको दाबी

 

काठमाडौँ ,

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नवनियुक्त अध्यक्ष लालवीर चौधरीले बर्खास्त गरिएकी पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको विधान र प्रक्रिया अनुसार विधिसम्मत ढंगले हटाइएको स्पष्ट गरेका छन्। बिहीबार अध्यक्षमा नियुक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टीको हित र निकासका लागि यस्तो कदम आवश्यक भएको बताएका हुन्।

“उहाँ (रञ्जिता श्रेष्ठ)लाई कुनै व्यक्तिगत कारणले नभई पार्टीको दीर्घकालीन हितका लागि हटाइएको हो,” चौधरीले भने, “विधिसम्मत ढंगले उहाँलाई पदबाट हटाइएको छ। पार्टीले यथासमयमा बैठक डाकेर निर्णय गरेको हो।”

यसअघि श्रेष्ठले आफूलाई अवैध रुपमा हटाइएको दाबी गरेकी थिइन्। तर चौधरीले त्यस दाबीलाई खारेज गर्दै डेढ वर्षसम्म रञ्जिताले पार्टीको कुनै बैठक नगरेको, नीति तथा कार्यक्रम अगाडि नबढाएको र नेतृत्व संकट सिर्जना भएको आरोप लगाए।

“पार्टी सञ्चालनमा पूर्ण रुपमा निष्क्रियता देखिएपछि हामीले धेरै पटक सुझाव, सल्लाह र आग्रह गर्यौँ,” चौधरीले भने, “तर कुनै चासो नदिएकोले पार्टीले निकास दिनुपर्ने अवस्था आयो। त्यसैले राष्ट्रिय भेलाबाट निर्णय गरियो।”

उनले नेतृत्व परिवर्तन प्रक्रिया ढिलो हुन सक्ने अवस्था रहे पनि उपनिर्वाचनको सन्दर्भमा समय अभावले गर्दा छिटो निर्णय गर्नुपरेको पनि स्पष्ट गरे। उनका अनुसार, पार्टी विधान, निर्वाचन आयोगका मापदण्ड र कानुनी प्रक्रियालाई ध्यानमा राखेर निर्णय गरिएको हो।

“हामी ढिलो गरौँ भने पनि दलको आधिकारिकता गुम्ने खतरा थियो,” उनले भने, “उपनिर्वाचन नजिकिएकोले संगठनलाई व्यवस्थित गर्न तत्काल निर्णय लिनुपर्ने बाध्यता भयो।”

चौधरीले आफूले पार्टीलाई सबल, सुदृढ र नीतिगत रूपमा स्पष्ट बनाउने संकल्प व्यक्त गरे। उनले पार्टीभित्रको विवाद समाधान गरेर संगठनात्मक एकता कायम गर्ने र जनआवश्यकताअनुसार कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाए।

पार्टीभित्र उत्पन्न नेतृत्व संकटले अहिले नागरिक उन्मुक्ति पार्टी दुई धारमा विभाजित देखिएको छ। यद्यपि, चौधरीले सहमति र संवादमार्फत सबै मतभेद समाधान गर्ने बताएका छन्।
अध्यक्षमा चौधरी नियुक्त भएसँगै पार्टीको नेतृत्वको आगामी दिशा कता जान्छ भन्ने विषयमा राजनीतिक विश्लेषकहरूको चासो बढेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार