जनकपुरमा खुकुरी प्रहार: किशोरीको मृत्यु, आमा र अर्की किशोरी गम्भीर घाइते

जनकपुरमा खुकुरी प्रहार: किशोरीको मृत्यु, आमा र अर्की किशोरी गम्भीर घाइते


लोक आवाज ,

जनकपुरधाम, १३ साउन । जनकपुरधाममा सोमबार राति भएको खुकुरी प्रहारको घटनामा एक किशोरीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित एक डेरामा बस्दै आएकी आमा र उनकी दुई छोरीमाथि राति साढे १०  बजे धारिलो हतियार प्रयोग गरी आक्रमण भएको हो।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साह कलवारले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षीया अञ्जली कुमारी यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ। अञ्जलीकी आमा ३५ वर्षीया आशा देवी यादव र १४ वर्षीया राधा यादव गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ।

प्रहरीका अनुसार रामबाबु साहले पारिवारिक रिसिइबीका कारण आशा देवी बस्दै आएको डेरामा प्रवेश गरी तीनै जनामाथि खुकुरीले आक्रमण गरेका थिए। उनीहरूले डेराको एउटा कोठा भाडामा लिएर बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानबाट रामबाबुको आशा देवीसँग विगतमा सम्बन्ध रहेको र आपसी मतभेदकै कारण घटनाले हिंसात्मक मोड लिएको प्रहरीको भनाइ छ।

घटनास्थलमा पुग्दा प्रहरीले आशा देवीको टाउको, हात र ढाडमा गहिरो चोट देखिएको र राधा यादव पनि  गम्भीर घाइते भएको जनाएको छ। मृतक अञ्जली यादव अध्ययनको सिलसिलामा आमा र साथीसँग जनकपुरमा डेरा गरी बस्दै आएकी थिइन्।

रामबाबु साह हाल फरार छन्। तर, प्रहरी स्रोतका अनुसार उनी यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए। पाँच वर्षअघि आफ्नै पहिलो पत्नीको हत्या गरेको घटनामा उनको संलग्नता रहेको स्थानीयले बताएका छन्। प्रहरीका अनुसार रामबाबुले हालसम्म तीन विवाह गरेका छन् र उनको व्यवहारबाट परिवारमा पटक–पटक हिंसा हुने गरेको पाइएको छ।

घटनाले जनकपुरमा त्रासको वातावरण सिर्जना गरेको छ। स्थानीय बासिन्दाले दोषीलाई छिटो पक्राउ गरी कडाभन्दा कडा सजाय दिन माग गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार