लोक आवाज ,
जनकपुरधाम , १२ साउन ।प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेशमा पाँच सयवटा सिँचाइ बोरिङ खन्ने घोषणा गरेसँगै नेपाल विद्युत प्राधिकरणले त्यसका लागि आवश्यक पूर्वाधारको तयारी तीव्र पारेको छ। यही सन्दर्भमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जनकपुरधाम आइपुगेका छन्।
शाक्यले मधेश प्रदेशका विभिन्न वितरण केन्द्रका प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल गर्दै सिँचाइ बोरिङ सञ्चालनका लागि आवश्यक विद्युत आपूर्तिको योजना र कार्यान्वयन रणनीतिबारे व्यापक विचारविमर्श गरेका छन्। उनले सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायतका जिल्लाका वितरण प्रमुखहरूसँग प्रस्तावित बोरिङ स्थानहरूको पहिचान र प्राथमिकता निर्धारणका विषयमा समन्वय गर्न निर्देशनसमेत दिएका छन्।
“सुख्खाले पीडित किसानलाई समयमा राहत पुर्याउन बोरिङ जडान र त्यससँगै विद्युत आपूर्ति सुनिश्चित गर्नु अहिलेको मुख्य चुनौती हो,” उनले भने, “अबको एक महिनाभित्र बोरिङ जडान र विद्युत सेवा सञ्चालन गर्ने लक्ष्यसहित हामी मैदानमा खटिएका छौं।”
निर्देशक शाक्यले स्थानीय किसानसँग नजिकको समन्वय गर्दै बोरिङ स्थापनाको स्थान पहिचान गर्न निर्देशन दिँदै, वितरण केन्द्रलाई आवश्यक पूर्वाधार निर्माणमा कुनै ढिलाइ हुन नदिन आग्रह गरेका छन्। उनका अनुसार ट्रान्सफर्मरको आपूर्ति, लाइन विस्तार, लोड व्यवस्थापन र प्रणाली सुदृढीकरणमा प्राधिकरणले तत्काल निर्णय लिनेछ।
उनले चितवनमा विद्युत आपूर्तिको अवस्था अवलोकनपछि जनकपुरधाम पुगेका थिए। उनका अनुसार बोरिङ जडानका लागि पर्याप्त मात्रामा ट्रान्सफर्मर तथा अन्य उपकरणहरू खरिद प्रक्रियामा रहेका छन्।
यसबीच, केही किसान प्रतिनिधिहरूले पनि विद्युत प्राधिकरणसँग भेट गरी बोरिङ सञ्चालनमा तत्काल विद्युत आपूर्तिको माग राखेका छन्। प्रदेशमा पानीको अभावका कारण धान रोपाइँमा ढिलाइ भइरहेको र यदि समयमै सिँचाइको व्यवस्था भएन भने उत्पादनमा गम्भीर असर पर्ने उनीहरूको चिन्ता छ।
नेपाल विद्युत प्राधिकरणले भने किसानको चासोलाई गम्भीरताका साथ लिएको जनाउँदै आगामी दिनमा सिँचाइ प्रयोजनका लागि आवश्यक सबै विद्युत पूर्वाधार उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया !