कमला नगरपालिका–१ मंग्रहामा पानी निकास समस्या समाधानका लागि सर्वपक्षीय बैठक सम्पन्न

कमला नगरपालिका–१ मंग्रहामा पानी निकास समस्या समाधानका लागि सर्वपक्षीय बैठक सम्पन्न

 

 

सुनिल कुमार साह, लोक आवाज, धनुषा, ०९ साउन

कमला नगरपालिका–१ मंग्रहामा विगत पाँच वर्षदेखि गम्भीर रूपमा देखिएको पानी निकासको समस्याको समाधान खोज्न आज सर्वपक्षीय बैठक सम्पन्न भएको छ। नगर प्रमुख विशेश्वर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा वडा अध्यक्ष शरद देव यादवसहित स्थानीय समाजसेवी, अगुवा नेता, किसान, युवाहरू तथा प्रभावित स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

बैठकमा सहभागी किसानहरूले मंग्राहाको करिब ५० औ  बिघा भन्दा बढी खेतीयोग्य जमिन वर्षैपिच्छे पानी जमेर प्रयोगविहीन हुँदै गएको गुनासो राखेका थिए। उनीहरूका अनुसार हरेक वर्षा याममा खेतमा पानी जमेर बाली नष्ट हुने क्रम दोहोरिँदा स्थानीयको जीविकोपार्जनमा गम्भीर असर परेको छ।

 

स्थानीयबासीहरूले समस्या उत्पत्ति भएको मूल कारण सिया देवी यादवको निजी जमिन रहेको बताएका छन्। वर्षौँअगाडिदेखि सोही जमिन हुँदै प्राकृतिक रुपमा पानी बग्ने गरे पनि हाल उक्त क्षेत्रमा माटो पुरी पानीको बहाव अवरुद्ध गरिएको छ। यसले गर्दा पानी थुनिने, खेत डुब्ने र कृषिजन्य उत्पादनमा असर पुर्‍याउने समस्या बढ्दो रहेको छ।

 

बैठकमा सहभागी अधिकांशले विगतमा जहाँबाट पानी स्वतः बग्ने गर्थ्यो, त्यही ठाउँबाट पुनः पैनी खन्नुपर्ने साझा माग राखे। तर उक्त विषयमा बोल्दै नगर प्रमुख विशेश्वर प्रसाद यादवले भने, “उक्त जमिनसम्बन्धी मुद्दा अदालतमा परेको थियो, जहाँ हामी केही कानुनी त्रुटिका कारण पराजित भयौं। तर पनि त्यो नै प्राकृतिक निकास भएकाले हामी त्यसै स्थानमा पैनी खन्ने प्रयास गर्नेछौं। यदि कानुनी रूपमा कुनै अवरोध आयो भने, विकल्पस्वरूप जमिनको पश्चिमपट्टि रहेको सार्वजनिक बाटोमुनि पाइप बिछ्याएर पानी निकासको व्यवस्था मिलाइनेछ।”

 

उनले थप स्पष्ट पारे, “उक्त बाटो जग्गाधनीले अघिल्लो पटक जमिन बिक्री गर्दा सार्वजनिक बाटोका रूपमा छुट्याइएको हो, त्यसैले विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ। तर सो बाटोअन्तर्गत पाइप राख्ने काम गर्दा त्यस क्षेत्रका घर तथा संरचनामा असर पर्न सक्ने भएकाले सावधानीपूर्वक योजना बनाउनु जरुरी छ।”

 

बैठकमा गाउँबासीहरूले जिल्ला अदालतले स्थलगत निरीक्षण नगरी सीधै सिया देवी यादवको पक्षमा फैसला गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै न्यायालयको भूमिकामाथि प्रश्नसमेत उठाएका थिए। उनीहरूको भनाइमा, यदि अदालतले वस्तुस्थिति अवलोकन गरेको भए वास्तविकतामा आधारित निर्णय आउने थियो।

 

स्थानीय सरकारको तर्फबाट प्रतिबद्धता जनाइए पनि तत्काल समस्या समाधानका लागि आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया छिटो टुंग्याइनुपर्नेमा सबै सहभागी एकमत थिए। बैठकमा निष्कर्षस्वरूप सबै पक्षको सहमतिमा तत्काल प्राविधिक अध्ययन गराई कानुनी सम्भाव्यता हेरेर प्राकृतिक पैनी खोल्ने वा वैकल्पिक पाइपलाइनमार्फत पानी निकासको व्यवस्थाका लागि पहल थाल्ने निर्णय भएको छ।

 

पाँच वर्षदेखि खेति गर्न नपाएका किसानहरू समाधानको आशामा छन्। अब यो समस्या समाधानको सरकारी प्रतिबद्धता व्यवहारमा कहिले र कसरी कार्यान्वयन हुन्छ भन्ने प्रतिक्षामा मंग्रहाबासी छन्।

 

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार