भारतको महिनाथपुरमा एसएसबीको गोली प्रहार, एक भारतीय नागरिक घाइते

 भारतको महिनाथपुरमा एसएसबीको गोली प्रहार, एक भारतीय नागरिक घाइते

सुनिल कुमार साह ,

लोक आवाज ,जनकपुरधाम , ०७ साउन । धनुषा जिल्लाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने महिनाथपुर नजिक भारतीय भूमिमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) द्वारा चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन्।

भारतीय सुरक्षा अधिकारीको भनाइ उद्धृत गर्दै सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले दिएको जानकारीअनुसार ४५ वर्षीय भर्ता पासमान नामक भारतीय नागरिक एसएसबीको गोली लागेर घाइते भएका हुन्। उनी भारतको महिनाथपुर क्षेत्रका स्थानीय हुन्।

घटनाको जड स्थानीय व्यापारी लालमोहन पासमानसँग भएको विवादलाई नियन्त्रणमा लिन एसएसबीले हस्तक्षेप गरेपछि उत्पन्न तनावको क्रममा चार राउण्ड गोली चलाइएको पुष्टि भएको छ। गोली चलाउँदा भर्ता पासमानको कम्मरमा दुई राउण्ड गोली लागेको छ। उनलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ।

उक्त घटना भारतीय भूभागमै घटेको भए पनि सीमावर्ती क्षेत्र भएकाले यसको प्रत्यक्ष प्रभाव नेपालतर्फ पनि परेको छ। घटनापछि सतर्कता अपनाउँदै उक्त सीमा क्षेत्रलाई तत्कालकालागि बन्द गरिएको छ।

विदेह नगरपालिका–१ सँग सटेको महिनाथपुर क्षेत्रमा खाद्य सामग्री ओसारपसारका विषयमा विवाद चुलिँदा तनाव बढेको बताइएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा बारम्बार यस्ता ससाना विवादले ठूलो रूप लिने गरेको इतिहास रहँदै आएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार स्थिति नियन्त्रणमा लिन थप सुरक्षा सतर्कता अपनाइएको छ भने घटनाको अनुसन्धान पनि सुरु गरिएको छ। स्थानीयवासीहरूले सीमा क्षेत्रमा शान्ति र समन्वय कायम राख्न दुवै देशका सुरक्षा निकायलाई संयमता अपनाउन आग्रह गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार