सिटौलाको संकेत : कांग्रेस–एमाले गठबन्धन चुनावसम्म टिक्ने, सरकार अझ प्रभावकारी बन्नुपर्छ ,

सिटौलाको संकेत : कांग्रेस–एमाले गठबन्धन चुनावसम्म टिक्ने, सरकार अझ प्रभावकारी बन्नुपर्छ ,

 

 

काठमाडौं ।
नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूको बैठकले वर्तमान सरकारलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ। सोमबार चाक्सिबारीमा बसेको बैठकमा सहभागी नेताहरूले संविधान कार्यान्वयनको समीक्षा र संशोधन प्रक्रियालाई पनि अघि बढाउन जोड दिएका छन्।

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्ण सिटौलाले वर्तमान सत्ता गठबन्धनले संविधान कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। “यो कांग्रेस र एमालेको समझदारीमा बनेको सरकार हो। त्यस अनुसार सरकारले काम गर्न जरुरी छ,” सिटौलाले भने, “हामीले विश्वास गरेका छौँ कि यो गठबन्धन आगामी २०८४ को निर्वाचनसम्म कायम रहनेछ।”

 

सिटौलाका अनुसार संविधान कार्यान्वयनको समीक्षा र आवश्यक संशोधन सरकारको नीति तथा कार्यक्रममै उल्लेख भए पनि त्यसबारे कुनै ठोस पहल नभएकोप्रति नेताहरूले चिन्ता व्यक्त गरेका छन्। उनले भने, “संविधानको कार्यान्वयनबारे समीक्षा र संशोधन सरकारको प्राथमिकतामा पर्नुपर्छ। यो कुरा सरकार गठनका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्ट रूपमा सहमति भएको थियो।”

 

बैठकमा पूर्वमहामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, रामशरण महत, भीमसेन दास प्रधान, महेश आचार्य, सुजाता कोइरालालगायत नेताहरू सहभागी थिए। उनीहरूबीच सरकारको प्रभावकारिता, गठबन्धनको कार्यशैली र पार्टीको भूमिका विषयमा छलफल भएको बताइएको छ।

 

नेताहरूले गठबन्धन भित्रको आपसी सहकार्य अझ सुदृढ बनाउन र जनताका अपेक्षाअनुसार काम गर्न सरकारलाई सुझाव दिने निष्कर्ष पनि निकालेका छन्। साथै, राष्ट्रिय मुद्दाहरूमा सरकारको धारणा स्पष्ट नदेखिएको भन्दै आलोचना समेत गरिएको छ।

 

बैठकमा सहभागी नेताहरूको धारणा थियो— वर्तमान सरकार संविधानको मर्म अनुसार चल्नुपर्ने र कांग्रेसले सरकारमा रहँदा जनताका पक्षमा स्पष्ट पहल गर्नुपर्नेछ।
यसैबीच, बैठकमा पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी निर्वाचनको तयारीबारे पनि सैद्धान्तिक छलफल भएको स्रोतले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार