लोक आवाज ,
कैलाली , ०५ साउन । कैलालीमा कार्यरत एक वरिष्ठ वन अधिकृत घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयको टोलीले डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ अधिकृत पूर्णशंकर यादवलाई सोमबार ७ लाख ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वन क्षेत्रबाट कटान गरिएको काठको बिमर्का र छोडपूर्जी उपलब्ध गराउन सेवाग्राहीसँग घुस मागेका थिए । सोही उजुरीका आधारमा अख्तियारले निगरानी बढाउँदै अन्ततः उनीमाथि पक्राउको तयारी गरेको थियो ।
सोमबार कार्यालयमै सेवाग्राहीबाट मागेको घुस रकम लिँदै गरेका बेला अख्तियारको टोलीले यादवलाई रंगेहात पक्राउ गरेको हो । पक्राउपछि उनलाई अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।
सामुदायिक वनको नाममा चुरे क्षेत्रबाट काठ कटानी, बिमर्का प्रमाणिकरण, र ढुवानीका लागि आवश्यक छोडपूर्जी दिने प्रक्रियामा हुने अनियमितता र भ्रष्टाचारका बारेमा समय–समयमा गुनासोहरू आइरहेका छन् । यसै सन्दर्भमा यादवमाथिको कारवाहीलाई स्थानीयवासी र सरोकारवाला निकायले सकारात्मक रूपमा लिएका छन् ।
घटनापछि अख्तियारले एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाहमा देखिएको भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न यस किसिमका निगरानी र कारवाहीलाई निरन्तरता दिइने बताएको छ । “सार्वजनिक पदमा बसेका व्यक्तिहरूबाट हुने गैरकानुनी लाभको सट्टाबजारलाई नियन्त्रण गर्न अख्तियार प्रतिबद्ध छ,” विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय डिभिजन वन कार्यालयहरूमा वनजन्य स्रोतसाधनको दोहन तथा दुरुपयोगसँगै घुस–रिसवतको गम्भीर समस्या देखिएको छ । चुरे संरक्षणको नाममा सरकारी तथा गैरसरकारी निकाय सक्रिय देखिए पनि व्यवहारमा भने वन अधिकृतहरूमाथि पटक–पटक भ्रष्टाचारका गम्भीर आरोप लाग्दै आएका छन् ।
अख्तियारले यादवमाथि अख्तियार दुरुपयोग निवारण ऐन, २०५९ बमोजिमको कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ । यस प्रकरणलाई उदाहरणीय कारवाहीको रूपमा अघि बढाउनु पर्ने स्थानीयवासीहरूको माग छ ।




प्रतिक्रिया !