एजेन्सी ।
बंगलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय भवनमा ठोक्किँदा भयावह दुर्घटना भएको छ । दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ भने १६४ जना घाइते भएका छन् । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेको पुष्टि गरिएको छ ।
स्थानीय समयअनुसार दिउँसो १ बजेर १८ मिनेटमा बंगलादेशी वायुसेनाको एक एफ–७ लडाकु विमान उत्तरा क्षेत्रमा रहेको ‘माइलस्टोन स्कुल एन्ड कलेज’को भवनमा ठोक्किएको हो । यो विमान वायुसेनाको नियमित प्रशिक्षण उडानमा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनाको प्रत्यक्षदर्शीहरूका अनुसार विमान एक्कासी विद्यालयको भवनतर्फ मोडिएको थियो र ठूलो आवाजसँगै भवनमा ठोक्किएको थियो । ठोक्किएसँगै आगलागी समेत भएको र त्यसले झनै स्थिति भयावह बनाएको बताइएको छ ।
विमान ठोक्किएको बेलामा विद्यालयमा सयौं विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू थिए । दुर्घटनापछि विद्यालय परिसरमा भागदौड मच्चिएको थियो । घाइतेमध्ये धेरैलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ । कतिपयको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन् ।
बंगलादेशको प्रमुख समाचार पत्र प्रोथोम आलो का अनुसार, घाइतेमध्ये धेरैजसो स्कुलका विद्यार्थी हुन् । उद्धार कार्यमा सेना, प्रहरी, दमकलकर्मी तथा स्थानीय स्वयंसेवकहरू खटिएका थिए । आगो नियन्त्रणमा ल्याउन करिब दुई घण्टा लागेको थियो ।
घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुमानअनुसार इन्जिन फेल भएर विमानको नियन्त्रण गुमिएको हुन सक्ने वायुसेना स्रोतले जनाएका छन् ।
यस दर्दनाक दुर्घटनापछि बंगलादेशको अन्तरिम सरकारले मंगलबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको छ ।
शिक्षा मन्त्रालयले मृतकहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै सबै विद्यालयहरूमा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली दिन निर्देशन दिएको छ । घटनाले सम्पूर्ण राष्ट्रलाई स्तब्ध तुल्याएको छ ।




प्रतिक्रिया !