सिरहा कारागारमा कैदीबीच झडप, १३ जना घाइते

सिरहा कारागारमा कैदीबीच झडप, १३ जना घाइते

लोक आवाज ,

जनकपुरधाम , ०४ साउन । सिरहा कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन्। कारागारभित्रको आन्तरिक नेतृत्वको विषयलाई लिएर उत्पन्न विवादले झडपको रूप लिएको हो।

 

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले दिउँसो करिब ३:३० बजे कैदीहरूबीच झगडा भएको पुष्टि गरे। उनका अनुसार कारागारभित्र को आन्तरिक प्रशासनको नेतृत्व गर्ने भन्ने विषयमा विवाद चर्किएपछि कैदीहरू आपसमा झगडामा उत्रिएका हुन्। “कसले आन्तरिक व्यवस्थापन सम्हाल्ने भन्नेमा विवाद भएपछि स्थिति नियन्त्रण बाहिर गयो,” बरालले जानकारी दिए।

 

झडपमा परेका १३ जना कैदीहरूलाई उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा लगिएको छ। प्रारम्भिक रिपोर्टअनुसार उनीहरूको अवस्था सामान्य छ भने घाइतेहरूको स्वास्थ्यमा सुधार आइरहेको अस्पताल स्रोतले जनाएको छ।

 

घटनापछि कारागारको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयोजनमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै, झडपमा संलग्न कैदीहरूको पहिचान प्रक्रिया अघि बढाइएको छ।

 

कारागार प्रशासनका अनुसार अनुशासन तोड्नेहरूविरुद्ध आवश्यक कारबाही गरिनेछ। “हामी झडपमा संलग्नहरूलाई पहिचान गरी अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाउँदैछौं,” एक अधिकारीले बताए।

 

सिरहा कारागारमा यसअघि पनि कैदीहरूबीच आन्तरिक विवादका कारण तनावपूर्ण अवस्था सिर्जना भएको थियो। यस पटकको घटनाले पुनः कारागारको व्यवस्थापनप्रति प्रश्न उठाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार