जनकपुरधाम उपमहानगरको ३ अर्ब बढीको बजेट, पूर्वाधारदेखि हरित शहरसम्म प्राथमिकता

जनकपुरधाम उपमहानगरको ३ अर्ब बढीको बजेट, पूर्वाधारदेखि हरित शहरसम्म प्राथमिकता

सुनिल साह ,

लोक आवाज ,जनकपुरधाम , ३१ असार । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब १ करोड ९ लाख ४६३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। असार ३० गते सोमबार सम्पन्न १३औँ नगरसभाबाट उपमहानगरले आगामी वर्षका लागि सार्वजनिक सेवा, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन, कृषि, शिक्षा र हरित शहर निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो।

 

बजेट विवरणअनुसार उपमहानगरपालिकाले चालू खर्चतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४६३ रुपैयाँ, पुँजीगत खर्चतर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्ता तर्फ ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

 

उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बजेट पेश गर्दै जनकपुरधामको विकासलाई दिगो, समावेशी र आधुनिक बनाउने उद्देश्यसहित योजना तय गरिएको जानकारी दिए। “शहरको सामाजिक, आर्थिक र भौतिक स्वरूप रूपान्तरण गर्नका लागि योजनाबद्ध बजेट ल्याइएको हो,” उनले भने।

 

गत आर्थिक वर्ष २०८१/०८२ को कार्यान्वयन अवस्थाबारे जानकारी दिँदै उपमहानगरले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र सामाजिक सुरक्षा क्षेत्रमा ७१ प्रतिशत बजेट कार्यान्वयनमा सफल भएको जनाएको छ।

 

यस वर्षको बजेटले सडक, ढल, पार्क, खानेपानी, सडकबत्ती लगायतका भौतिक पूर्वाधारको विस्तार तथा स्तरोन्नतिको योजना अघि सारेको छ। त्यस्तै, कृषि उद्योग प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना, महिला उद्यमशीलता, शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि, पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धन, हरित जनकपुरधाम निर्माण, वातावरण संरक्षण र स्मार्ट सिटी अवधारणालाई समेत प्राथमिकतामा राखिएको छ।

 

नगरसभामा सहभागी जनप्रतिनिधिहरूले बजेटलाई यथार्थपरक र विकासमुखी भन्दै कार्यान्वयनमा प्रभावकारीता ल्याउन जोड दिएका छन्।

 

नगरसभाबाट पारित भएको यो बजेट अब कार्यान्वयनमा जाँदा जनकपुरधामको समग्र विकासलाई गति दिने अपेक्षा गरिएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार