‘२०/२५ वर्ष अझै नेतृत्वमा रहनेछु’ — प्रधानमन्त्री ओलीको दोहोरो घोषणा

‘२०/२५ वर्ष अझै नेतृत्वमा रहनेछु’ — प्रधानमन्त्री ओलीको दोहोरो घोषणा

 

झापा ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व अझै २० देखि २५ वर्षसम्म गर्ने घोषणा पुनः दोहोर्याएका छन्। झापामा आइतबार एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रको स्थायित्व, एकता र आफू नेतृत्वकै निरन्तरताले मात्रै एमालेको भविष्य सुनिश्चित हुने दाबी गरे।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि एमालेको सक्रिय सदस्यता नविकरण गरेर पार्टी नेतृत्वमा आउने अड्कलबाजी चलिरहेका बेला ओलीको यस्तो अभिव्यक्ति आएको हो। विगतमा पनि उनले यस्तै प्रकृतिका भनाइ सार्वजनिकरूपमा दिएका थिए। तर, भण्डारीको सक्रियता पुनः बढेको सन्दर्भसँग जोडेर उनको अभिव्यक्तिलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ।

भेलामा सम्बोधन गर्दै ओलीले भने, “ओलीबिनाको एमाले अहिले कल्पना नगरे हुन्छ। ओलीबिनाको एमालेको कल्पना गर्नु छ भने अझै २०/२५ वर्ष पर्खनुहोस्।”
उनले पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको हतारो गर्नेलाई व्यंग्य गर्दै थपे, “मूलाको बोट नछिप्पिँदै तान्नुभयो भने त्यान्द्रो मात्र आउँछ। मूला छिप्पिन दिनुपर्छ, अनि मात्र काम लाग्छ।”

ओलीले पार्टीलाई विभाजन गराउने षड्यन्त्र भित्रैबाट भइरहेकाे संकेत गर्दै केही स्वार्थी नेताहरूको आलोचना गरे। उनले विगतमा पार्टीभित्र बसेर लाभ लिएका नेताहरूले पार्टीलाई टुक्र्याउन खोजेपनि कार्यकर्ता र जनताको साथले पार्टी बचिएको र अहिले पुनः राष्ट्रिय शक्ति बनेको बताए।

भेलामा उनले पार्टीभित्रको एकतालाई बलियो बनाउने संकल्प गरे। “यदि हामी सङ्गठित भएर अघि बढ्यौं भने एमालेलाई कोही पराजित गर्न सक्दैन,” ओलीको भनाइ थियो।

प्रधानमन्त्रीका रूपमा आफूले थुप्रै विकास र समृद्धिका योजना अघि सारेको उल्लेख गर्दै ओलीले फलाम खानी, पेट्रोलियम उत्खनन, सुरुङमार्ग लगायतका परियोजनाहरूको प्रतिफल आउन थालेको बताए। “हामीले थालनी गरेका धेरै कामहरूको परिणाम अब देखिन थाल्छ,” उनले भने।

संविधान संशोधनको विषयमा बोल्दै ओलीले भने, “संविधान संशोधन गर्ने भन्ने विषयमा हामी खुलेका छौं। तर त्यो उपयुक्त समयमा र गहिरो छलफलपछि गरिनुपर्छ। बेमौसमको बाजा बजाएर होइन।”

उनको अभिव्यक्तिलाई एमालेको नेतृत्व प्रतिस्पर्धा तथा पार्टीको आन्तरिक समीकरणसँग जोडेर हेरिएको छ। पूर्वराष्ट्रपति भण्डारीको सम्भावित सक्रियताले उत्पन्न राजनीतिक तरंगबीच ओलीले आफ्नो पकड अझै मजबुत रहेको सन्देश दिन खोजेका छन्।

ओलीको यस्तो आत्मविश्वासपूर्ण अभिव्यक्ति पार्टी कार्यकर्तामा उत्साह थप्ने उद्देश्य राखिएको देखिन्छ। तर, लामो समय नेतृत्वमा रहने अभिव्यक्तिलाई समकालीन राजनीतिक वृत्तमा शक्ति केन्द्रिकरण र नेतृत्व हस्तान्तरणमा अवरोधको रूपमा पनि विश्लेषण गरिँदैछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार