लोक आवाज ,
जनकपुरधाम , १७ असाढ । जनमत पार्टीले आफ्नो संगठनात्मक सुदृढीकरणको क्रमलाई तीव्र बनाउँदै दुई जना नेताहरूलाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेको छ। पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार पूर्वमन्त्री दानबहादुर चौधरी र वैज्ञानिक एवं पार्टी नेता डा. जय कान्त राउतलाई यो उच्च जिम्मेवारी प्रदान गरिएको हो।
नवनियुक्त उपाध्यक्षमध्ये कपिलवस्तुको मायादेवी गाउँपालिका–१ निवासी दानबहादुर चौधरी तीन दशकभन्दा बढी समयदेखि नेपाली राजनीतिमा सक्रिय छन्। २०३९ सालदेखि सक्रिय राजनीतिमा लागेका चौधरीले २०५६ सालको निर्वाचनमा नेकपा (एमाले) र २०६४ सालमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट प्रतिनिधिसभा सदस्यको रूपमा संसदमा प्रतिनिधित्व गरेका थिए।
उनको लामो राजनीतिक यात्रामा उद्योग, सामान्य प्रशासन, महिला तथा बालबालिका मन्त्रालयमा राज्यमन्त्री र समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालिसकेको अनुभव रहेको छ। चौधरीको सशक्त राजनीतिक भूमिका र संगठनप्रतिको प्रतिबद्धतालाई जनमत पार्टीले मुल्यांकन गर्दै उनलाई केन्द्रीय उपाध्यक्षको पदमा नियुक्त गरेको हो।
त्यस्तै, अर्का उपाध्यक्षमा मनोनित डा. जय कान्त राउत सप्तरीको महादेव गाउँपालिकाका स्थायी बासिन्दा हुन्। उनी पार्टीका राष्ट्रिय परिषद्का संयोजक एवं संगठन विभागका प्रमुखको रूपमा पहिलेदेखि नै सक्रिय थिए। डा. राउत २०७९ सालको संघीय निर्वाचनमा जनमत पार्टीको तर्फबाट सप्तरी–२ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका थिए।
डा. राउत राष्ट्रिय योजना आयोगको सदस्यको रूपमा पनि कार्यरत भइसकेका छन्। विज्ञान, योजना तथा संगठन निर्माणमा उनको सशक्त भूमिका रहेको जनमत पार्टीको भनाइ छ। उनी पार्टी अध्यक्ष डा. सीके राउतका दाजु समेत हुन्।
जनमत पार्टीले जनाएको अनुसार दुवै नेताको दीर्घ राजनीतिक अनुभव, संगठनमा पुर्याएको योगदान र क्षेत्रीय तथा राष्ट्रिय तहमा प्रभावशाली भूमिका रहेका कारण उच्च पदमा मनोनयन गरिएको हो।
यो मनोनयनसँगै जनमत पार्टीका राष्ट्रिय उपाध्यक्षहरूको संख्या ६ पुगेको छ। यसअघि अब्दुल खान (बर्दिया), इन्जिनियर बसन्त कुमार कुशवाहा (रौतहट), इन्जिनियर नरेन्द्र प्रसाद चौधरी (कपिलवस्तु) र नरसिंह चौधरी (कपिलवस्तु) उपाध्यक्षका रूपमा कार्यरत थिए।
नयाँ मनोनयनसहित जनमत पार्टीले आगामी दिनमा संगठन विस्तार र रणनीतिक सुदृढीकरणलाई अझ व्यवस्थित ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया !