मुख्यमन्त्री सिंहले ‘मधेशले देशलाई खुवाउने’ अभियानलाई प्रदेश सरकारको केन्द्रबिन्दुमा

मुख्यमन्त्री सिंहले ‘मधेशले देशलाई खुवाउने’ अभियानलाई प्रदेश सरकारको केन्द्रबिन्दुमा

 

लोक आवाज

जनकपुरधाम,  १५  असार  ।  २२औँ राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्पूर्ण किसानहरू र प्रदेशवासीलाई शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै प्रदेशलाई खाद्य आत्मनिर्भर बनाउने सरकारको दीर्घकालीन प्रतिबद्धता दोहोर्याएका छन्।

 

मुख्यमन्त्री सिंहले ‘मधेशले देशलाई खुवाउने’ अभियानलाई प्रदेश सरकारको केन्द्रबिन्दुमा राखिएको जानकारी दिँदै कृषि क्षेत्रको सुदृढीकरणबाटै आर्थिक समृद्धिको ढोका खोलिने बताए। उनले भने, “उत्पादन मधेशमा, विस्तार देशमा भन्ने नारासहित हामीले कृषि उत्पादन वृद्धि, उत्पादकत्व अभिवृद्धि र कृषिजन्य वस्तुको आयातमा निर्भरता घटाउने रणनीति अवलम्बन गरेका छौं।”

 

धेरै वर्षदेखि किसानले भोग्दै आएको मल, बीउ, सिँचाइ तथा प्रविधिको अभाव सम्बोधन गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले मधेशमा ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको उल्लेख गरे। यो कार्यक्रम अन्तर्गत धान उत्पादनलाई वर्षमा दुईपटक सम्भव बनाउने लक्ष्य लिइएको छ, जसले आयात प्रतिस्थापन र दीर्घकालीन रूपमा निर्यात प्रवर्द्धन गर्ने आशा गरिएको छ।

 

सिंहका अनुसार, कृषि यान्त्रीकरण, विद्युतीकरण, माटो परीक्षण, उर्वरता सुधार तथा जल व्यवस्थापनमा आत्मनिर्भरता ल्याउने कामलाई तीव्रता दिइएको छ। “जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको प्रयोगमा प्रदेश सरकार विशेष ध्यान दिइरहेको छ,” उनले भने। उनले कृषि अनुसन्धान, प्रविधि विकास तथा जलवायु अनुकूल बीउ उत्पादनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिए।

 

मुख्यमन्त्री सिंहले किसानको जीवनस्तर उकास्न आवश्यक पूर्वाधार र सेवामा सुधार गर्दै समुन्नत कृषि प्रणाली निर्माण गरिने जनाए। “किसानले सहज रूपमा उन्नत बीउ, मल, सिँचाइ, औजार र बजारमा पहुँच पाउनुपर्छ। यी सबै विषयमा प्रदेश सरकार गम्भीरताका साथ काम गरिरहेको छ,” उनले भने।

 

धान दिवसको अवसरमा आयोजित सन्देशमा मुख्यमन्त्री सिंहले मधेशका किसानको योगदानलाई स्मरण गर्दै उनीहरूलाई राष्ट्रनिर्माणको मेरुदण्ड भनेका छन्। “किसानले मलजल र पसिनाले देशको अन्न भण्डार भरिरहेका छन्। उनीहरूको सम्मान गर्नु, उनीहरूका समस्याको समाधान गर्नु सरकारको मुख्य कर्तव्य हो,” उनले बताए।

 

मुख्यमन्त्रीले राष्ट्रिय धान दिवसलाई कृषिमा नवप्रवर्तन र प्रेरणा जगाउने दिवसका रूपमा लिइनुपर्ने धारणा राखे। उनले थपे, “यस दिवसले हामीलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने प्रेरणा देओस् भन्ने कामना गर्दछु। सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्मान र आभार प्रकट गर्दछु।”

 

सिंहले कृषि उत्पादनको दीगो प्रणाली स्थापनाका लागि संघीय सरकारसँगको समन्वयलाई पनि सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। “हामी कृषि समृद्धि बिना प्रदेशको समृद्धि सम्भव छैन भन्ने बुझाइमा छौं,” उनले जोड दिए।

 

प्रदेश सरकारले यस वर्ष पनि कृषि अनुदान, बीउ वितरण, किसान परिचयपत्र तथा कृषि बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाइएको छ। विभिन्न जिल्लामा आधुनिक प्रविधि सहितका कृषि तालिम र प्रदर्शन परियोजनाहरू सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत मुख्यमन्त्रीले जानकारी दिए।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार