लोक आवाज ,
जनकपुरधाम , १३ असार । धनुषा जिल्लाको कमला नगरपालिकामा बहुप्रतीक्षित विपद् आपतकालिन कार्य सञ्चालन केन्द्र (Emergency Operation Center) आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। कमला नगरपालिकाको आयोजना र नेतृत्वमा सम्पन्न यो महत्वपूर्ण केन्द्रको उद्घाटन नगर प्रमुख विशेश्वर यादवले एक विशेष समारोहबीच गर्नुभयो।
समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्र, विपद् व्यवस्थापन तथा योजना शाखा प्रमुख बीरेन्द्र कुमार सढान, कमला युवा सञ्जालका अध्यक्ष विमलेश यादव, विभिन्न वडाका वडाध्यक्ष तथा स्थानीय सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले केन्द्रको स्थापनासँगै नगरवासीको आपतकालीन अवस्थामा तत्काल सहायता तथा सूचनाको पहुँच सुलभ हुने विश्वास व्यक्त गर्नुभयो। “अब बाढी, आगलागी, भूकम्प, महामारी लगायत विपद् अवस्थाहरूमा छिटो सूचना आदानप्रदान, उद्धार तथा राहत संयोजन गर्न सजिलो हुनेछ,” उहाँले भन्नुभयो। उहाँले थप गर्नुभयो, “यो केन्द्र नगरपालिकाको आपतकालीन योजना कार्यान्वयनको मुख्य मेरुदण्ड बन्नेछ।”
प्रमुख प्रशासकीय अधिकृत सन्तोष मिश्रले केन्द्रको निरन्तर सुदृढीकरण गर्दै विपद् जोखिम न्यूनीकरण र पूर्वतयारी रणनीतिलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउनुभयो। “केन्द्र स्थापनासँगै अब हामी जानकारी व्यवस्थापन, पूर्व सूचनाको तयारी, स्थानगत जोखिम मूल्याङ्कन र समन्वयात्मक उद्धार योजनाहरूमा गति ल्याउनेछौं,” उहाँले भन्नुभयो।
कार्यक्रममा विपद् व्यवस्थापन तथा योजना शाखा प्रमुख बीरेन्द्र कुमार सढानले केन्द्रद्वारा गरिने क्रियाकलापबारे जानकारी दिँदै भने, “डेटा व्यवस्थापन, समुदाय-आधारित चेतनामूलक कार्यक्रम र प्रारम्भिक पूर्वतयारी योजनामा केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ।” उहाँले थप गर्नुभयो, “विशेष गरी युवाहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा सकृय बनाउन हामी विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रम ल्याउनेछौं।”
कमला युवा सञ्जालका अध्यक्ष विमलेश यादवले युवाहरूको सहभागिता बिना विपद् व्यवस्थापन सफल हुन नसक्ने बताउँदै केन्द्रसँग सहकार्य गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि गरिने धारणा राख्नुभयो।
सञ्चालनमा आएको यो केन्द्रले कमला नगरपालिकाभित्र देखा पर्न सक्ने विविध प्राकृतिक विपद् (जस्तै बाढी, डुबान, आँधी, चट्याङ्) र मानवनिर्मित संकट (जस्तै आगलागी, सवारी दुर्घटना, महामारी) को तदारुक प्रतिक्रिया तथा व्यवस्थापनका लागि केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ।
स्थानीय तहमा विपद् पूर्वतयारीको अभाव, सूचनाको ढिलाइ, उद्धार संयोजनमा कठिनाइ जस्ता समस्याहरूलाई समाधान गर्न यो केन्द्र एक महत्वपूर्ण पूर्वाधारको रूपमा स्थापित भएको हो।
समापनमा नगर प्रमुखले केन्द्रलाई दिगो, प्रविधिमैत्री र जनसहभागिता आधारित बनाउने लक्ष्य रहेको बताउँदै अन्य पालिकाहरूका लागि पनि कमला नगरपालिकाको यो प्रयास उदाहरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो।
यससँगै कमला नगरपालिकाले विपद् व्यवस्थापनको दिशामा एक महत्वपूर्ण कदम चालेको छ, जसले दीर्घकालीन रूपमा नगरवासीको सुरक्षा, जीवनरक्षा र पूर्वतयारी क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !