एसईईको नतिजामा सुधार: प्रधानमन्त्री ओली भन्छन् – ‘हाम्रो मेहनतले फल दियो’

एसईईको  नतिजामा सुधार: प्रधानमन्त्री ओली भन्छन् – ‘हाम्रो मेहनतले फल दियो’

 

काठमाडौँ , १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा सुधार आउनुमा सरकारको पहल र मेहनत प्रभावकारी भएको बताएका छन्। शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेहनत सफल भएको टिप्पणी गरेका हुन्।

 

प्रधानमन्त्री ओलीले लेखेका छन्, “एसईई परीक्षामा ग्रेड प्राप्त गर्नुभएका भाइबहिनीहरूलाई हार्दिक बधाई! यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गतवर्ष ४७.८६ प्रतिशतले मात्र ग्रेड पाएका थिए। बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ।”

 

उनले कमजोर प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि निराश नहुन आग्रह गरेका छन्। “ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ,” उनले भने।

 

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार, नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कूल ४ लाख ९९ हजार १८३ परीक्षार्थी सहभागी भएका थिए।

 

नतिजा विवरणअनुसार ३.६० देखि ४.०० जिपिए ल्याउने विद्यार्थी ४८ हजार १७७ जना रहेका छन्। ३.२० देखि ३.६० जिपिए ल्याउने ८१ हजार ३८५ जना छन् भने २.८० देखि ३.२० जिपिए ल्याउने ८९ हजार १२४ जना रहेका छन्।

त्यस्तै, २.४० देखि २.८० जिपिए ल्याउने ४८ हजार ४७९ जना, २.०० देखि २.४० जिपिए ल्याउने ४ हजार १२६ जना र १.६० देखि २.०० जिपिए ल्याउने जम्मा ८ जना विद्यार्थी रहेका छन्।

 

बोर्डका अनुसार यसपटक ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। यो अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ४७.८६ प्रतिशत विद्यार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए भने ५२.१४ प्रतिशत विद्यार्थी अबर्गीकृत भएका थिए।

 

यसपटक नतिजा अबर्गीकृत हुने विद्यार्थीको संख्या घटेर १ लाख ६७ हजार ५९७ मा झरेको छ। यद्यपि, यो संख्या पनि कम चुनौतीपूर्ण छैन। शिक्षा विज्ञहरूले अबर्गीकृत विद्यार्थीहरूको शैक्षिक सुधारका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन्।

 

परीक्षा बोर्डका अनुसार नतिजा एसएमएस, आईभीआर र वेबसाइटमार्फत सार्वजनिक गरिएको छ। परीक्षार्थीहरूले विभिन्न सेवा प्रदायकमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

प्रधानमन्त्री ओलीको प्रतिक्रिया सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले सरकारको प्रयासलाई सकारात्मक रूपमा लिएका छन् भने कतिपयले अझै धेरै सुधार आवश्यक रहेको तर्क गरेका छन्।

यद्यपि, यो वर्षको एसईई नतिजा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको देखिन्छ। विद्यार्थी, शिक्षक, अभिभावक र नीतिनिर्माताहरूका लागि यो नतिजा शिक्षा प्रणाली सुधारतर्फको एउटा संकेत पनि हुन सक्छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार