लोक आवाज ,
काठमाडौँ , ११ असार। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति आफ्नो वार्षिक आर्थिक दायित्व बुधबार पूरा गरेका छन्। ओलीले एमालेको केन्द्रीय कार्यालय, च्यासलमा पुगेर आफ्नै उपस्थितिमा सदस्यता शुल्क तथा लेबी बुझाएका हुन्।
ओलीले पार्टीको वार्षिक सदस्यता शुल्क ३०० रुपैयाँसहित १२ महिनाको लेबी बापत ३ लाख रुपैयाँ जम्मा गरेका छन्। एमालेका अनुसार अध्यक्ष ओलीले कुल ३ लाख ३०० रुपैयाँ बुझाएका हुन्। उक्त रकम बुझाएपछि एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले ओलीलाई रसिद हस्तान्तरण गरेका थिए।
एमाले पार्टीको नियमअनुसार सांसदसहित लाभको पदमा रहेका पदाधिकारीहरूले नियमित रूपमा पार्टीलाई लेबी बुझाउनुपर्ने प्रावधान छ। सदस्यता शुल्क भने सबै नेता तथा कार्यकर्ताहरूले हरेक वर्ष बुझाउने गर्छन्।
पार्टीले आर्थिक पारदर्शिता र आन्तरिक अनुशासनलाई सुदृढ बनाउन यस्ता अभ्यासलाई नियमित बनाएको बताउँदै आएको छ। अध्यक्ष ओलीको व्यक्तिगत उपस्थितिमा आर्थिक दायित्व पूरा गर्नु पार्टीभित्र अनुशासन र उत्तरदायित्वको सन्देशका रूपमा लिइएको छ।
पार्टीका अन्य नेताहरूमाथि पनि ओलीको यो कदमले सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। एमालेले आफ्नो संगठनात्मक अनुशासन सुदृढ पार्न आर्थिक पारदर्शिता र नियमितताको अभ्यासलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।




प्रतिक्रिया !