सुनिल कुमार साह
जनकपुरधाम , १० असार । धनुषा जिल्लाको धनौजी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ करोड ६६ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरी पारित गरेको छ। सोमबार सम्पन्न गाउँसभा बैठकमार्फत गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट अनुमोदन गरेको हो।
गाउँपालिका अध्यक्ष राजकुमार साहले बजेटसँगै नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा र दिगो विकासका क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा बजेटको मुख्य अंश सेवा प्रवाह र भौतिक पूर्वाधार निर्माणतर्फ खर्च गरिनेछ।
“गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ,” अध्यक्ष साहले भने, “विशेष गरी कृषकलाई अनुदान, विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रवाह, स्वास्थ्य संस्थाको सेवा विस्तार र सडक, खानेपानीजस्ता आधारभूत पूर्वाधारमा बजेट केन्द्रित हुनेछ।”
बजेटमार्फत कृषिमा यान्त्रीकरण, सिचाइको सुविधा विस्तार, आधुनिक प्रविधिको प्रयोग र किसान प्रशिक्षण कार्यक्रम समावेश गरिने योजना सार्वजनिक गरिएको छ। यस्तै, शिक्षा क्षेत्रमा माध्यमिक विद्यालयमा प्रविधि मैत्री कक्षा सञ्चालन, छात्रवृत्ति कार्यक्रम र पुस्तकालय स्थापना गरिनेछ।
स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा सबै वडामा विस्तार गर्ने, स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र उपकरण व्यवस्था गर्ने तथा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ। सामाजिक सुरक्षाका लागि जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा एकल महिलालाई राहत कार्यक्रम निरन्तरता दिइनेछ।
गाउँपालिकाले आम्दानीका स्रोत विविधीकरण गर्ने, पारदर्शी र उत्तरदायी शासन प्रणाली विकास गर्ने लक्ष्य पनि बजेटमार्फत तय गरेको छ। दिगो विकासका लागि वातावरणीय संरक्षण, हरियाली विस्तार तथा जल स्रोत व्यवस्थापनमा समेत ध्यान दिइने बताइएको छ।
गाउँसभा बैठकमा वडाध्यक्ष, सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र स्थानीयवासीको उपस्थिति रहेको थियो।




प्रतिक्रिया !