विदेह नगरपालिकाको १०औं नगरसभा सम्पन्न, ५० करोड ५१ लाखको बजेट सार्वजनिक

विदेह नगरपालिकाको १०औं नगरसभा सम्पन्न, ५० करोड ५१ लाखको बजेट सार्वजनिक

सुनिल साह ,

जनकपुरधाम, १० असार । धनुषा जिल्लाको विदेह नगरपालिकाले आफ्नो १०औं नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोड ५१ लाख ५ सय २५ रुपैयाँ बराबरको वार्षिक नीति तथा बजेट कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको उद्घाटन प्रदेश सांसद लखन दासले गरे।

नगरसभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सांसद दासले कृषकको उत्पादनलाई स्थानीय सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउनु आवश्यक रहेको बताए। “कृषिलाई आधुनिक प्रविधिको माध्यमबाट व्यवस्थित गर्नुपर्छ,” उनले भने, “उत्पादन खरिद केन्द्रको व्यवस्था गरिएमा किसानको जीवनस्तरमा सुधार आउँछ र उपभोक्तालाई पनि सहुलियतमा वस्तु उपलब्ध हुन्छ।” साथै उनले दलित तथा विपन्न समुदायका बालबालिकाहरू स्कुल भर्नाबाट वञ्चित हुन नदिन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

नगर प्रमुख बेचन दासले आफ्नो कार्यकालमा नगर क्षेत्रको समग्र विकासमा देखिएको प्रगतिको चर्चा गरे। उनले सडक, नाला, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा महत्त्वपूर्ण सुधार भएको उल्लेख गर्दै विदेह नगरपालिकाको एकीकृत विकास योजनाअन्तर्गत निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिए। “विकासलाई गति दिन अब योजना कार्यान्वयनमा एकढिक्का भएर लाग्नुपर्छ,” नगर प्रमुख दासले भने।

सभामा उपप्रमुख आशा देवी झा, प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव तथा वडाध्यक्षहरू — वड नं. १ का राधेश्याम गोईत (देवेन्द्र), वडा नं. २ का संजय पाण्डे, वडा नं. ३ का जयराम मण्डल, वडा नं. ४ का राजकिशोर सिंह, वडा नं. ५ का शम्भु साह र वडा नं. ६ का रामपुकार सहनीले शुभकामना मन्तव्य राखेका थिए। सभाको सञ्चालन रामएकवाल मण्डलले गरेका थिए।

सभामा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण, महिला सशक्तिकरण, वातावरण संरक्षण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाले चालु खर्चभन्दा बढी पुँजीगत खर्च सुनिश्चित गर्दै दीर्घकालीन विकास परियोजनामा लगानी गर्ने घोषणा गरेको छ।

बजेट दस्तावेज अनुसार, नगरपालिकाले आन्तरिक राजस्व वृद्धिका लागि कर प्रणाली सुधार गर्ने, स्थानीय स्रोत परिचालन गर्ने र संघीय तथा प्रदेश सरकारसँग सहकार्यमा विकास परियोजनाहरू सञ्चालन गर्ने नीति लिएको छ। साथै, विपद् व्यवस्थापन, खानेपानी, स्वच्छता, बालमैत्री शिक्षा, कृषि यान्त्रीकरण, युवाको स्वरोजगार सिर्जना तथा महिला उद्यम प्रवर्द्धनमा विशेष जोड दिइने उल्लेख गरिएको छ।

नगरसभाबाट पारित बजेट र नीति कार्यक्रममा स्थानीय स्तरमा आएका माग तथा सुझावलाई समेटिएको र सहभागीमुखी विकासलाई प्राथमिकतामा राखिएको बताइएको छ। नगरपालिकाले योजनाको छनोटदेखि कार्यान्वयनसम्म पारदर्शिता कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

नगरसभाको समापनमा नगर प्रमुख दासले सबै वडाको समन्वयमा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने र नागरिकसम्म सेवा पुर्‍याउने गरी काम गरिने आश्वासन दिए। उनले नगरबासीहरूबाट प्राप्त सुझाव र सुझावलाई बजेट निर्माणमा स्थान दिएको जानकारी पनि गराए।

विदेह नगरपालिकाको यो बजेटले समावेशी विकास, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गचित्र प्रस्तुत गरेको भन्दै स्थानीयवासीहरूले स्वागत गरेका छन्।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार