जनकनन्दिनी गाउँपालिकाले सार्वजनिक गर्‍यो ४१ करोड ६० लाखको बजेट, विकासमा छ प्राथमिकता

जनकनन्दिनी गाउँपालिकाले सार्वजनिक गर्‍यो ४१ करोड ६० लाखको बजेट, विकासमा छ प्राथमिकता

सुनिल साह ,

लोक आवाज , जनकपुरधाम, १० असार ।  जनकनन्दिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ६० लाख ८७ हजार २४१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। विशेष समारोहका साथ सम्पन्न १३औँ गाउँसभाबाट यो बजेट पारित भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासको अध्यक्षता र अध्यक्ष दिपिनदेव यादवको प्रमुख आतिथ्यमा गाउँसभा सम्पन्न भएको थियो।

बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष सहगलले आर्थिक अनुशासन कायम राख्दै जनताको आवश्यकता र मागअनुसार योजना निर्माण गरिएको जानकारी दिइन्। उनले चालु खर्चभन्दा बढी पुँजीगत खर्च सुनिश्चित गर्ने बताइन्। “जनप्रतिनिधि, कर्मचारी र जनताको सहकार्यमा असोज महिनादेखि नै विकास निर्माणका काम सुरु हुन्छन्,” उनले भनिन्।

गाउँपालिकाको यो बजेटले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, महिला तथा बालबालिका सशक्तिकरण, विपद् जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले योजनाको छनोट, लागत अनुमान र बजेट कार्यान्वयनलाई पारदर्शी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

अध्यक्ष दिपिनदेव यादवले अघिल्लो वर्षको अनुभवलाई सिकाइका रूपमा लिँदै अब विकास कार्य कागजमा मात्र सीमित नरहने दाबी गरे। “हामीले हरेक घर, समुदाय र नागरिकसम्म बजेटको प्रभाव पुर्‍याउने गरी काम गर्नेछौं,” उनले भने। अध्यक्ष यादवले कार्यपालिका सदस्य र वडाध्यक्षहरूबाट साथ पाए असोजदेखि नै काम सुरु हुने पनि बताए।

गाउँपालिकाका प्रमुख योजनाहरूमा शुद्ध खानेपानी विस्तार, सामुदायिक विद्यालय सुधार, स्थानीय सडक मर्मत तथा निर्माण, कृषि यान्त्रीकरण, महिला उद्यम प्रवर्द्धन, युवा सीप विकास, विपद् पूर्वतयारी कार्यक्रम र सरसफाइ अभियान समावेश छन्। संघीय र प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित परियोजनालाई निरन्तरता दिइने र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने निर्णय समेत भएको छ।

वडास्तरबाट आएका मागहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै छनोट गरिने, र बजेट कार्यान्वयन पारदर्शी रूपमा गरिने जानकारी दिइएको छ। यस वर्षलाई ‘सेवा प्रवाह र विकासको आधार वर्ष’ बनाउने प्रतिबद्धता पनि गाउँसभाबाट व्यक्त गरिएको छ।

गाउँसभामा वडा नं. १ का सँतोष गोईत, वडा नं. २ का अब्दुल मालिक शेख, वडा नं. ३ का विष्णुदेव साह बानियाँ, वडा नं. ४ का दिलिप कुमार यादव, वडा नं. ५ का अशोक मण्डल र वडा नं. ६ का सूर्यदेव यादवसहित कार्यपालिका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रममा विभिन्न शाखाका कर्मचारीहरूको पनि सक्रिय उपस्थिति रहेको थियो। तीमध्ये आईटी शाखाका ऋषिकेश यादव, जिन्सी शाखाका रामनरेश ठाकुर, प्रशासन शाखाका लालबाबु पण्डित, प्राविधिक शाखाका मुकेश मण्डल, अर्जुन मण्डल, राजेश साह, रेमी परियोजनाका सुनिल पासवान, सामाजिक विकास शाखाका विकास ठाकुर, रोजगार शाखाका रणजय मरिता, सुरेन्द्र यादव, कृति चौधरी, स्वास्थ्य शाखाका रविभूषण मण्डल र कृषिका भरत चौधरी लगायतका कर्मचारीले सहकार्य गरेका थिए।

समग्रमा, सहभागितामूलक प्रक्रिया अवलम्बन गर्दै जनकनन्दिनी गाउँपालिकाले समावेशी र दिगो विकासलाई अगाडि बढाउने स्पष्ट सन्देश दिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार