इरानमाथिको अमेरिकी आक्रमणपछि ओमान, कतार र इराकको तीव्र प्रतिक्रिया,

इरानमाथिको अमेरिकी आक्रमणपछि ओमान, कतार र इराकको तीव्र प्रतिक्रिया,

 

एजेन्सी ,

इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमण भएपछि मध्यपूर्वका कूटनीतिक मुलुकहरूबाट तीव्र प्रतिक्रिया आउन थालेका छन्। अमेरिकासँग इरानबीचको आणविक वार्तामा मध्यस्थ भूमिका निर्वाह गर्दै आएको ओमानले आक्रमणलाई “अवैध” भन्दै त्यसको कडा निन्दा गरेको छ।

 

ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो अवैध आक्रमणको निन्दा गर्छौं। तत्कालै क्षेत्रीय तनाव न्यूनीकरण गर्न आवश्यक छ।” ओमान न्युज एजेन्सीका अनुसार ओमानले अमेरिकी कदम अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको स्पष्ट उल्लंघन भएको दाबी गरेको छ।

 

ओमानको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “अमेरिकी कदमले द्वन्द्वलाई थप चर्काउने खतरा पैदा भएको छ। यसले समग्र क्षेत्रमा अशान्ति र अस्थिरता निम्त्याउन सक्छ।” ओमानले सम्बद्ध पक्षहरूलाई संयम अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ।

 

यसैबीच, खाडी क्षेत्रको अर्काे प्रभावशाली राष्ट्र कतारले पनि अमेरिकी आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। कतारको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “युद्धको वर्तमान अवस्थाले खतरनाक मोड लिएको छ। यसले क्षेत्रीय मात्र होइन, अन्तर्राष्ट्रिय सुरक्षा सन्तुलनमा पनि विनाशकारी असर पार्न सक्छ।”

 

कतारले सबै पक्षलाई तत्काल सैन्य कारबाही रोक्न र संवाद तथा कूटनीतिक माध्यममा फर्कन आह्वान गरेको छ। युद्धको विकल्प संवाद मात्रै भएको भन्दै कतारले अन्तर्राष्ट्रिय समुदायलाई पनि सक्रिय मध्यस्थता गर्न आग्रह गरेको छ।

 

उता, इराकले इरानमाथिको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गर्दै यसको निन्दा गरेको छ। इराकी सरकारका अनुसार यस्तो कारबाहीले सम्पूर्ण क्षेत्रलाई अशान्त बनाउने र दीर्घकालीन असर पार्ने सम्भावना रहेको छ।

 

अहिलेको परिस्थितिमा इरान, अमेरिका, र यस क्षेत्रमा प्रभाव राख्ने देशहरूबीच तनाव उच्च विन्दुमा पुगेको छ। यदि तत्काल तनाव नियन्त्रण गरिएन भने पश्चिम एसियाको समग्र सुरक्षा सन्तुलनमा गम्भीर प्रभाव पर्ने खतरा बढेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार