वीरगञ्ज , ०८ असार । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
बर्दिया जिल्लाको गुलेरिया नगरपालिका–५ की स्थायी बासिन्दा रायमाझीविरुद्ध अदालतले जेठ १६ गते पक्राउ आदेश जारी गरेपछि पर्सा प्रहरीले उनलाई पक्राउ गर्न बर्दिया प्रहरी कार्यालयसँग पत्राचार गरेको हो। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, पक्राउ पुर्जी अनुसार आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
यस प्रकरणको सुरुवात पर्साकी आशा कुमारी चौहानद्वारा दायर उजुरीबाट भएको हो। चौहानका अनुसार, सांसद रायमाझीले आफूबाट २ लाख ७५ हजार रुपैयाँ सापटी लिई उक्त रकम फिर्ता गर्न चेक दिएकी थिइन्। तर, उक्त चेक बैंकमा जम्मा गर्दा खातामा पर्याप्त रकम नभएको पाइएको थियो। यसै आधारमा चौहानले बैंकिङ कसुरअन्तर्गत उजुरी दिएकी हुन्।
रायमाझी हाल लुम्बिनी प्रदेशसभामा जनमत पार्टीबाट समानुपातिक कोटाबाट निर्वाचित सांसद हुन्। उनी अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन्। बैंकिङ प्रणालीप्रति विश्वास तोड्ने खालको आरोप एकजना सांसदविरुद्ध लाग्नु गम्भीर विषयका रूपमा हेरिएको छ।
यस घटनाले प्रदेशसभा र जनमत पार्टी दुबैको छवि प्रभावित हुनसक्ने देखिएको छ। जनप्रतिनिधिहरुले नागरिकको भरोसा जित्न र कानुनको पालना गर्न अग्रसर हुनुपर्नेमा, बैंकिङ जस्तो संवेदनशील विषयमा यसरी फसेको समाचारले राजनीतिक वृत्तमै बहस चर्काएको छ।
यता, पर्सा प्रहरीले यस मुद्दालाई प्राथमिकताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा रायमाझी निकटवर्ती श्रोतले भने उनलाई फसाउने षड्यन्त्र भएको दाबी गरेका छन्।




प्रतिक्रिया !