जनकपुरधामको राराब क्याम्पसमा प्रवेशपत्र विवाद, दुई विद्यार्थी नेता पक्राउ

जनकपुरधामको राराब क्याम्पसमा प्रवेशपत्र विवाद, दुई विद्यार्थी नेता पक्राउ

लोक आबाज ,

जनकपुरधाम , ०६ असार  ।  जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा बीबीएस तेस्रो वर्षका परीक्षार्थीहरूलाई समयमै प्रवेशपत्र वितरण नगरिएको विषयलाई लिएर सुरु भएको विवादले शुक्रबार उग्र रूप लिएको छ । घटनाक्रम उग्र बन्दा क्याम्पसमा झडपको अवस्था सिर्जना भएको थियो भने दुई जना विद्यार्थी नेताहरू पक्राउ परेका छन् ।

प्रवेशपत्र वितरणमा ढिलाइ भएपछि विद्यार्थीहरूले क्याम्पस प्रशासनमाथि आक्रोश पोखेका थिए । विद्यार्थीहरूले क्याम्पस प्रमुख वसन्त कर्णलाई घेरेर तीव्र असन्तोष जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी टोली खटिँदा विद्यार्थी नेताहरूसँग भनाभन र झडप भयो ।

झडपका क्रममा अखिल (क्रान्तिकारी) का स्ववियु सभापति मनिष यादव र नेता चमनप्रसाद गोइतलाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार विवाद समाधान गर्न खोज्दा विद्यार्थी नेताहरूले अभद्र व्यवहार गरेपछि पक्राउ गर्नुपरेको हो ।

पक्राउको विरोधमा विद्यार्थीहरूले राराब क्याम्पस चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि पनि विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरूले पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गरिरहेका छन् ।

विरोधका कारण जनकपुरको ट्राफिक आवागमनमा केही समय अवरोध भएको थियो भने सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको छ ।

उता, क्याम्पस प्रमुख वसन्त कर्णले प्रवेशपत्र ढिलो वितरण हुनुको प्राविधिक कारण रहेको बताएका छन् । उनका अनुसार प्रवेशपत्र काठमाडौँबाट ढिलो आएको हुँदा समयमै वितरण गर्न नसकिएको हो ।

राराब क्याम्पसमा बीबीएस तेस्रो वर्षका करिब १ हजार २ सय विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । आजदेखि सुरु भएको परीक्षा अन्तर्गत पहिलो दिन ‘बिजनेस ल’ विषयको परीक्षा शान्तिपूर्ण ढंगले सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पस प्रशासनले परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ । छात्रहरूले भने यस्ता लापरबाहीले भविष्य प्रभावित हुने भन्दै प्रवेशपत्र व्यवस्थापन सुधार गर्न माग गरेका छन् ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार