११ महिनामा निर्यातमा ७७ प्रतिशत वृद्धि, व्यापार घाटा घट्दै,

११ महिनामा निर्यातमा ७७ प्रतिशत वृद्धि, व्यापार घाटा घट्दै,

 

काठमाडौँ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय उतारचढाव देखिएको छ । विशेषगरी निर्यात पक्षमा उत्साहजनक वृद्धि देखिएको छ भने व्यापार घाटा तुलनात्मक रूपमा कम भएको छ । भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा देशको कुल निर्यात ७७.७७ प्रतिशतले बढेको छ ।

गत वर्ष यही अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष सो आंकडा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ । निर्यात वृद्धिमा वनस्पति तेल विशेषगरी सोयाबिन र सूर्यमुखी तेलको उल्लेख्य योगदान रहेको विभागले जनाएको छ ।

आयाततर्फ पनि वृद्धि देखिएको छ । जेठ मसान्तसम्म कुल आयात १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.१५ प्रतिशतले बढी हो । जेठ महिनामात्रै झण्डै १ खर्ब ७० अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।

यद्यपि, निर्यात वृद्धिको दर उच्च भएको कारण आयातको तुलनामा निर्यातको हिस्सा उल्लेख्य रूपमा बढेको छ । निर्यातको हिस्सा १३.०८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४९.६५ प्रतिशतले वृद्धि भएको हो । उता, आयातको हिस्सा भने ८६.९२ प्रतिशतमा सीमित भएको छ ।

व्यापार घाटा हेर्दा, निर्यात वृद्धिका कारण यो वर्ष व्यापार घाटामा तुलनात्मक रूपले कम वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्म व्यापार घाटा १३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब रुपैयाँ थियो । अर्थात् व्यापार घाटामा करिब ६ प्रतिशतको मात्र वृद्धि भएको छ । आयात÷निर्यात अनुपात पनि घटेर ६.६४ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६.३५ प्रतिशत कम हो ।

आयात गरिएका वस्तुहरूमध्ये इन्धनमा सबैभन्दा बढी खर्च भएको छ । ११ महिनामा नेपालले करिब २ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको इन्धन (पेट्रोल, डिजेल, एलपीजी, हवाई इन्धन) आयात गरेको छ । त्यस्तै, सवारीसाधनको आयात पनि १ खर्ब नाघेको छ ।

सबैभन्दा धेरै आयात भएका वस्तुहरूमा डिजेल (१ खर्ब १५ अर्ब ५५ करोड), कच्चा सोयाविन तेल (९५ अर्ब ७२ करोड), पेट्रोल (५८ अर्ब ५८ करोड), एलपीजी ग्यास (५७ अर्ब ३६ करोड), स्मार्टफोन (३२ अर्ब ८ करोड), कच्चा सूर्यमुखी तेल (२६ अर्ब ८७ करोड) र सुन (१७ अर्ब १२ करोड) रहेका छन् ।

उता, निर्यात हुने वस्तुहरूमा सबैभन्दा अगाडि सोयाविन तेल रहेको छ, जसको निर्यात ९३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यसपछि सूर्यमुखी तेल (११ अर्ब ३३ करोड), कार्पेट (९ अर्ब ७८ करोड), अलैची (७ अर्ब १९ करोड), र रोल्ड आइरन/स्टील (५ अर्ब १३ करोड) रहेका छन् ।

निर्यात वृद्धिको यो सकारात्मक संकेतले नेपालले दीर्घकालीन रूपमा वैदेशिक व्यापार सन्तुलनमा सुधार ल्याउन सक्ने संकेत दिएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार