इजरायल–इरान युद्ध: राइजिङ लायन अपरेसनले पश्चिम एशियामा तनाव चुलियो,

इजरायल–इरान युद्ध: राइजिङ लायन अपरेसनले पश्चिम एशियामा तनाव चुलियो,

एजेन्सी |
सन् २०२५ जुन १३ मा इजरायलले ‘अपरेसन राइजिङ लायन’ सुरु गर्दै इरानमाथि आकस्मिक हवाई आक्रमण गर्‍यो। लगत्तै इरान पनि प्रतिउत्तरमा उत्रिएको छ। पछिल्ला ६ दिनदेखि इजरायल र इरानबीचको सैन्य संघर्षले पश्चिम एशियामा गम्भीर तनाव उत्पन्न गरेको छ।

८० लाखभन्दा बढी जनसंख्या भएको इरानसँग ९० लाख जनसंख्या भएको इजरायलको भिडाइ असमान देखिए पनि इजरायलको अत्याधुनिक हतियार र सैन्य रणनीतिले संघर्षलाई गम्भीर मोड दिएको छ। अधिकांश हतियार अमेरिकाबाट प्राप्त गरेको इजरायलले हमासविरुद्ध गाजामा र इरानको राजधानी तेहरानसहितका क्षेत्रहरूमा एकसाथ आक्रमण गरिरहेको छ।

इजरायली दाबी अनुसार, उसले तेहरानको हवाई क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ भने अमेरिकी निर्मित युद्धक विमानहरूले लक्षित स्थानमा बम खसालिरहेका छन्। बीबीसीले पनि इजरायली वायुसेनाको हावी भएको पुष्टि गरेको छ।

यस संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १,२७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० बढी घाइते भएका छन्। इजरायली गुप्तचर संस्था मोसादले इरानभित्रै प्रवेश गरी रणनीतिक हवाई संरचनाहरूमा आक्रमणका लागि ड्रोन तस्करी गरेको थियो।

युद्ध झन् चर्किदैँ जाँदा इरानका सर्वोच्च नेता आयतुल्लाह खामेनीले आक्रमण थप तीव्र बनाउने चेतावनी दिएका छन्। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार, ‘फताह १’ नामक सुपरसोनिक क्षेप्यास्त्र इजरायलमाथि प्रहार गरिएको छ। यो क्षेप्यास्त्रले इजरायली प्रतिरक्षा प्रणालीमाथि सीधा प्रभाव पार्ने दाबी गरिएको छ।

इरानसँग अझै पनि ठूलो संख्यामा ब्यालेस्टिक मिसाइलहरू छन्, जसको संख्या २,००० देखि ३,००० को बीचमा अमेरिकी सैन्य आकलनले जनाएको छ। यद्यपि इजरायलले सतहबाट प्रहार गर्ने प्रक्षेपकहरूमध्ये करिब एक तिहाइ ध्वस्त गरिसकेको दाबी गरेको छ।

इरानको परमाणु कार्यक्रम पनि पुनः चर्चाको केन्द्रमा आएको छ। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (IAEA) को पछिल्लो प्रतिवेदनअनुसार इरानले ६० प्रतिशत शुद्धतासम्म युरेनियम संकलन गरिसकेको छ, जुन ९० प्रतिशत नजिक पुगेपछि परमाणु बम निर्माणका लागि प्रयोग हुन सक्छ। यद्यपि इरानले आफ्नो कार्यक्रम नागरिक प्रयोजनको लागि मात्र भएको जिकिर गर्दै आएको छ।

संयुक्त राज्य अमेरिका पनि परिस्थितिको गम्भीर मूल्याङ्कन गर्दै सक्रिय बनेको छ। ट्रम्पले वरिष्ठ सैन्य अधिकारीहरूसँग बैठक गर्दै इरानका भूमिगत परमाणु केन्द्रहरूमा सम्भावित हमला गर्ने विषयमा छलफल गरेका छन्। अमेरिकी जीबीयू–५७ बंकर बस्टर बमहरूले जमिन मुनि रहेका केन्द्रहरूलाई निशाना बनाउने तयारी गरिएको छ।

इरानका क्षेत्रीय सहयोगीहरू पनि सक्रिय भएका छन्। यमनका हूथी विद्रोहीहरूले इजरायलमाथि मिसाइल आक्रमण गरिरहेका छन् भने इराकस्थित इरान समर्थित समूहहरूले पश्चिमी सैन्य अड्डामाथि आक्रमणको प्रयास गरेका छन्। बेलायत र अमेरिका दुवैले आफ्ना सुरक्षा संयन्त्र सक्रिय बनाएका छन्।

स्थिति अझै जटिल बन्दै गएको छ। यदि युद्ध रोकिन सकेन भने यसले पूरै क्षेत्रीय सुरक्षामा दूरगामी असर पार्ने देखिन्छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार