एयर इण्डिया विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु,

एयर इण्डिया विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु,

 

एजेन्सी , भारत |
भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविकतर्फ उडेको एयर इण्डिया उडान एआई १७१ भयानक दुर्घटनामा परेपछि भारत शोकमा डुबेको छ। विमानमा सवार गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांश यात्रुको मृत्यु भएको पुष्टि भारतीय अधिकारीहरूले गरेका छन्।

बिहीबार दिउँसो १:३८ बजे (भारतीय समय) टेकअफ गरेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडानपछिको दोस्रो मिनेटमै दुर्घटनाग्रस्त भएको हो। विमानमा २३२ यात्रु र १० जना चालक दलका सदस्य सवार थिए। प्रारम्भिक रिपोर्टहरू अनुसार, दुर्घटनामा एक  जना मात्र  जीवित रहेको  छ।

दुर्घटनापछि घटनास्थलमा उद्दार कार्य जारी छ। भारतीय सञ्चारमाध्यमका अनुसार, अहिलेसम्म १०० भन्दा बढी शव फेला परिसकेका छन्। दुर्घटनास्थलमा आगलागीका कारण शवहरू चिनिनै नसकिने अवस्थामा छन्। बीबीसी हिन्दीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखेको छ, “विमान टेकअफको समयमा नै निकै तल उडिरहेको देखिन्थ्यो। केही मिनेटमै ठूलो आवाजसहित विस्फोट भयो र आकाशमा आगो र कालो धुवाँको मुस्लो फैलियो।”

विमान एयर कस्टम अफिस नजिकैको भवनमा ठोक्किएको पुष्टि भएको छ। ती पाँचतले भवनहरू अस्पतालका चिकित्सकहरूको आवास रहेको र दुर्घटनापछि १५ जना डाक्टर घाइते भएको विवरण सार्वजनिक भएको छ। भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

पूर्वमुख्यमन्त्री विजय रुपाणी विशेष निजी भ्रमणका लागि लन्डन जाँदै गरेको बताइएको छ। उनीसँगै अन्य विशिष्ट व्यक्तिहरू पनि विमानमा सवार रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ, यद्यपि आधिकारिक रूपमा पूर्ण यात्रु सूची सार्वजनिक भइसकेको छैन।

एयर इण्डियाले दुर्घटनापछि यात्रुका आफन्तहरूलाई आवश्यक सूचना र सहायता दिनका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको जनाएको छ। एयर इण्डियाले विज्ञप्तिमार्फत शोक व्यक्त गर्दै, “यो हाम्रो लागि अभूतपूर्व क्षतिको घडी हो। पीडितका परिवारहरूसँग हामी हार्दिक समवेदना प्रकट गर्दछौं। सबै सम्भव सहयोग र जानकारी प्रदान गरिनेछ,” भनेको छ।

भारत सरकार, नागर विमानन मन्त्रालय, विमान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB), DGCA र बोइङ कम्पनीका विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। दुर्घटनाको कारण यतिबेला अज्ञात रहेको भए पनि प्रारम्भिक विश्लेषणमा प्राविधिक समस्या वा पाइलट नियन्त्रण गुमाउने सम्भावना उल्लेख गरिएको छ।

गृह मन्त्री अमित शाह, प्रधानमन्त्री नरेन्द्र मोदी, र अन्य नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्। देशभर शोकको वातावरण छाएको छ, र विमान दुर्घटनालाई हालसम्मकै एक ठूलो हवाई दुर्घटनाका रूपमा हेरिएको छ।

विस्तृत विवरणहरू सार्वजनिक हुँदैछन्। सरकार र एअर इण्डिया दुवैले पीडित परिवारको हकमा आवश्यक राहत र सहायता कार्य तत्काल अघि बढाउने जनाएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार