लोक आवाज ,
जनकपुरधाम, ३० जेठ | जनकनन्दिनी गाउँपालिका, खजुरीले स्वरोजगारलाई प्रवर्द्धन गर्दै आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई लक्षित गर्दै अधिकतम ५० हजार रुपैयाँसम्मको अनुदान दिने घोषणा गरेको छ। “बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई स्वरोजगारका लागि आर्थिक सहयोग” भन्ने शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रम गाउँपालिकाको स्वीकृत सरसफाइ कार्यक्रमअन्तर्गत परेको छ।
गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केर आफ्नै गाउँमा व्यवसाय विस्तार गर्न चाहनेहरूलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो। साथै, नयाँ स्वरोजगार योजना बनाइरहेका स्थानीयहरू पनि अनुदानको लागि योग्य मानिनेछन्। उनीहरूलाई स्वरोजगार स्थापनाको लागि प्रारम्भिक आर्थिक सहयोग प्रदान गर्ने उद्देश्य यस कार्यक्रमको रहेको छ।
आवेदन दिने प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत हुनेछ। इच्छुक आवेदकले जनकनन्दिनी गाउँपालिकाको आधिकारिक वेबसाइट https://janaknandinimun.gov.np मा गई आवेदन फाराम भर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अनलाइन आवेदन अनिवार्य रूपमा बुझाउनुपर्नेछ। आवेदनमा व्यवसायको उद्देश्य, योजना, सम्भाव्यता र खर्च विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
को को आवेदन दिन सक्ने ?
यो अनुदान कार्यक्रम ती व्यक्तिहरूका लागि हो, जो वैदेशिक रोजगारीबाट फर्किएका छन्, स्वरोजगारमा संलग्न छन् वा नयाँ स्वरोजगार प्रारम्भ गर्न चाहन्छन्। व्यवसायप्रति रुचि, योजना र प्रतिबद्धता भएका व्यक्तिहरूले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्।
थप जानकारीका लागि सम्पर्क गर्न सकिने व्यक्ति:
-
हरिशंकर पासवान (परिवार परामर्शकर्ता अधिकारी): ९८०७०६३१८१
-
बिनिता कुमारी महतो (रोजगार परामर्शकर्ता): ९८४२८०३९४५
-
जय जय राम कुमार चौधरी (सामाजिक परिचालक): ९८०१२३३३३६
-
किरण कुमारी चौधरी (सामाजिक परिचालक): ९८००६५१३५३
गाउँपालिकाले इच्छुक र योग्य स्थानीयहरूलाई यो अवसर सदुपयोग गर्न अनुरोध गरेको छ। आफ्नो गाउँमै आत्मनिर्भर बन्ने सोच भएका युवा तथा श्रमिकहरूका लागि यो कार्यक्रम महत्वपूर्ण अवसर बन्न सक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया !