सप्तरीमा युवतीमाथि अमानवीय हिंसा : विषादी खुवाएर जबर्जस्ती गर्भपतन, प्रेमी फरार

सप्तरीमा युवतीमाथि अमानवीय हिंसा : विषादी खुवाएर जबर्जस्ती गर्भपतन, प्रेमी फरार

लोक आवाज ,

सप्तरी, २९  जेठ । विवाहको आश्वासन दिएर सम्बन्ध बनाइएका एक युवतीमाथि प्रेमीका आमाबुबाले विषादी खुवाएर जबर्जस्ती गर्भपतन गराएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । यस अमानवीय घटनामा चार महिनाको गर्भमा रहेको शिशुको मृत्यु भएको छ भने पीडित युवती उपचाररत छिन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ की २० वर्षीया सनिसा कुमारी खङ्गमाथि बुधबार बिहान ४ बजेतिर हिंसा भएको हो । स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको बेड नम्बर २६ मा उपचार गराइरहेकी सनिसाले बताएकी छिन् कि उनी सुतेकै बेला प्रेमी शिवजी खङ्गका बुबा परमेश्वर खङ्ग र आमा झुलफुल देवीले घरमा पसेर हातखुट्टा बाँधेर जबर्जस्ती विषादीयुक्त ट्याब्लेट खुवाएका थिए ।

‘म सुतेकी थिएँ, उहाँहरूले मलाई समातेर मुखमा ४–५ वटा ट्याब्लेट कोच्नुभयो, त्यसपछि म बेहोस भएछु,’ पीडितले भनिन् । विषादी सेवन गरेपछि उनलाई स्थानीय प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । चिकित्सकहरूले गर्भमा रहेको चार महिनाको शिशु मृत भइसकेको घोषणा गरेका छन् ।

सनिसाको आमाका अनुसार उनकी छोरीको सम्बन्ध २३ वर्षीय शिवजी खङ्गसँग विद्यालय जीवनदेखि नै थियो । कक्षा १० मा पढ्दादेखि प्रेममा रहेका उनीहरूले पछिल्ला केही वर्षमा शारीरिक सम्बन्ध पनि बनाएका थिए । शिवजीले विवाह गर्ने वाचा गर्दै सम्बन्ध बनाएका थिए तर पछि उनी फरार भए ।

यसअघि २०८१ चैत १२ गते गाउँमा बसेको पञ्चायती छलफलमा शिवजीले उमेर पुगेपछि विवाह गर्ने लिखित कबुलनामा दिएका थिए । तर, त्यसको केही समयपछि उनी सम्पर्कविहीन भएपछि पीडित युवती प्रहरीको सहयोगमा प्रेमीको घरमा शरण लिएकी थिइन् । प्रहरीको उपस्थितिमा घरमै बसेकी युवतीमाथि नै यो अमानवीय हिंसा भएको हो ।

पीडित पक्षका अनुसार प्रेमीका परिवारले गर्भपतन गराउन निरन्तर दवाब दिइरहेका थिए । युवतीले अस्वीकार गरेपछि उनलाई कुटपिट गर्दै विषादी खुवाइएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार घटनामा संलग्न शिवजीका बाबु परमेश्वर खङ्ग र आमा झुलफुल देवीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । ‘कुटपिट र भ्रूण हत्या सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने । हाल प्रेमी शिवजी खङ्ग भने फरार छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो घटना प्रेम सम्बन्ध, सामाजिक दबाब, लैङ्गिक हिंसा र नारी असुरक्षाको जटिल सम्बन्धको प्रतिविम्ब हो । स्थानीय समाजमा यस्ता घटनाले नारीमाथिको हिंसा र सामाजिक अन्यायप्रति गम्भीर प्रश्न उठाइरहेको छ । अधिकारकर्मीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् भने पीडित युवतीको सुरक्षा र न्याय सुनिश्चित गर्न राज्यलाई सक्रिय भूमिका खेल्न आह्वान गरिएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार