जनकपुरधाम, २९ जेठ । धनुषाको सबैला नगरपालिका–६ गोवीन्दपुरमा लिच्छवीकालीन मठेश्वर महादेव मन्दिरको भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको औपचारिक उत्खननबाट नवौँ शताब्दीको अन्त्यतिर निर्माण भएको ठानिएको मन्दिरका अवशेष भेटिएसँगै यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावनायुक्त केन्द्रको रूपमा विकास गर्न सकिने ठोस आधार खुलेको छ ।
सबैला नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा आफ्नै पहलमा बजेट विनियोजन गर्दै पुरातात्त्विक अध्ययन र उत्खनन प्रक्रिया सुरु गराएको थियो । प्रारम्भिक उत्खननमा एउटा मन्दिरको संरचना पत्ता लागेको थियो भने चालु वर्ष २०८१/८२ मा दोहोरिएको उत्खननबाट थप एक मन्दिरका अवशेष फेला परेका छन् ।
पुरातत्व विभागका प्रमुख अधिकृत प्रकाश दर्नालका अनुसार पाइएको संरचना शिखर शैलीमा बनेको र लिच्छवीकालीन वास्तुकलाको नमूना हो । “ढुंगामा कुँदिएका मूर्तिहरू, गजुरका टुक्रा, चिलम, इँटा र अन्य धार्मिक सामग्रीहरूले मन्दिर नवौँ शताब्दीको अन्त्यको हुन सक्ने प्रमाण दिएका छन्,” दर्नालले बताए । उनका अनुसार मन्दिरमा देखिएको शिल्पकला र आकृतिहरू बुद्धकालीन शिल्पशैलीसँग सामीप्य राख्दछन्, जसले यस स्थानको ऐतिहासिक महत्त्वलाई झनै गहिरो बनाएको छ ।
उत्खननमा संलग्न इन्जिनियर सुरेन्द्र पजियारका अनुसार हालसम्म २५ वटा मूर्तियुक्त ढुंगा, विभिन्न धार्मिक सामग्रीहरू तथा दुई छुट्टाछुट्टै मन्दिरका भग्नावशेष फेला परेका छन् । पहिलो मन्दिरको उचाइ अनुमानतः ५०–६० फिट र दोस्रोको १५–२० फिटको रहेको अनुमान गरिएको छ । उनका अनुसार आगामी मंसिर महिनाबाट थप विस्तृत उत्खनन कार्य सुरु गरिनेछ ।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले मठेश्वर महादेव मन्दिरको उत्खननले सम्पूर्ण मधेश प्रदेशकै सांस्कृतिक र धार्मिक पहिचानमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरे । “यो केवल सबैलाको मात्र नभई सम्पूर्ण मधेशको साझा सम्पदा हो,” उनले भने, “डिपिआर तयार गरेर पुनर्निर्माण र संरक्षणको काम आगामी वर्षदेखि थालिनेछ । मठेश्वर मन्दिर स्थल मधेशको गौरव बन्नेछ ।”
हाल उत्खनन कार्य अझै जारी रहेकोले भविष्यमा थप ऐतिहासिक प्रमाण र दस्तावेजहरू फेला पर्ने अपेक्षा गरिएको छ । स्थानीय सरकार र पुरातत्व विभागको सहकार्यमा यस ऐतिहासिक स्थलको संरक्षण गरिने बताइएको छ । यस्ता पहलहरूले सबैला र आसपासका क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया !