विन्धीका स्व: यादवको परिवारलाई श्री हरि मानव कल्याण मञ्चबाट आर्थिक सहयोग

विन्धीका स्व: यादवको परिवारलाई श्री हरि मानव कल्याण मञ्चबाट आर्थिक सहयोग

लोक आवाज ,

सुनिल साह ,जनकपुरधाम , १० जेष्ठ  ।  जनकपुरधाम उपमहानगरपालिका–२३, विन्धी निवासी आशु यादवको विभत्स हत्या पछि शोकमा डुबेको परिवारलाई श्री हरि मानव कल्याण मञ्चले आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चले मृतकका आमा लगायत परिवारजनलाई राहत स्वरूप नगद २१ हजार ५ सय ५ रुपैयाँ हस्तान्तरण गरेको हो।

सामाजिक सेवामा सक्रिय रहेको मञ्चले जनकपुरधामका विभिन्न व्यक्ति तथा व्यवसायीसँग चन्दा संकलन गरी उक्त सहयोग रकम जुटाएको जानकारी संस्थाका अध्यक्ष दिपक श्रेष्ठ मण्डलले दिएका छन्। मञ्चको प्रतिनिधिमण्डल मृतकको घरमै पुगेर शोकसन्तप्त परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुका साथै सहानुभूति प्रकट गरेको थियो।

अध्यक्ष मण्डलका अनुसार यस सहयोगले पीडित परिवारको केही भावनात्मक सान्त्वना दिन सक्ने अपेक्षा गरिएको छ। “साना भए पनि यस्ता सहयोगहरूले समाजमा एकता र मानवता कायम गर्न सघाउँछ,” मण्डलले बताए।

आशु यादवको केही समयअघि हत्या गरिएको थियो, जसले जनकपुरमा चुलिएको आपराधिक घटनाको बहसलाई पुनः सतहमा ल्याएको छ। यादवको मृत्युले स्थानीय समुदायमा त्रास र आक्रोश फैलिएको छ भने उनका परिवार अझै पनि शोकमा छन्।

मञ्चले आगामी दिनमा पनि अन्य पीडित परिवारलाई यस्तै सहयोग र सद्भाव प्रकट गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय बासिन्दाहरूले पनि संस्थाको यो मानवीय पहलको प्रशंसा गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार