सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

सर्लाही , १० जेष्ठ  । सर्लाही जिल्लाको बागमती नगरपालिका–१ स्थित पानीट्याङ्की चोक नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा भएको उक्त दुर्घटना बिहान करिब ८ बजेतिर बालुवा लोड गरिएको टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा भएको हो।

मोटरसाइकलमा सवार दुई युवकहरू दुर्घटनामा गम्भीर घाइते भएका थिए। स्थानीयको सहयोगमा दुवै घाइतेलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि चिकित्सकको सिफारिसमा उनीहरूलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको थियो।

तर, उपचारको क्रममा सर्लाहीको बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीको दिउँसो १२ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ। अर्का घाइते युवक सुमित यादवको अवस्था अत्यन्त गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

दुर्घटनामा संलग्न बालुवा लोड टिपर घटनास्थलमै फेला परेको छ। चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार टिपर तीव्र गतिमा रहेको र अनियन्त्रित भएर सिधै मोटरसाइकलमा ठोक्किएको बताइएको छ।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक भनाइअनुसार दुर्घटनाको प्रमुख कारण टिपर चालकको लापरवाही हुनसक्ने अनुमान गरिएको छ। घटनापछि राजमार्गको सो खण्ड केही समय अवरुद्ध भएको थियो भने स्थानीयले दुर्घटनाप्रति आक्रोश व्यक्त गरेका थिए।

सर्लाहीको यस क्षेत्र विगतमा पनि सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चिनिँदै आएको छ। स्थानीयवासीले ट्राफिक नियमको कडाईका साथ पालना गरिनुपर्ने र सवारीको गति नियन्त्रणमा राख्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार