लोक आवाज ,
जनकपुरधाम , ६ जेठ। धनुषाको मिथिला नगरपालिका–६ स्थित ढल्केबर चोकमा किसान आन्दोलनका शहीद मुंगालाल महतो र मोहन महतोको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ।
मंगलबार शहीद द्वयको ४६औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत नगर प्रमुख महेन्द्र महतो, नागरिक समाजका अगुवा तथा लेखक रामरिझन यादवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उक्त शालिक र सभाहल उद्घाटन गरिएको हो।
वि.सं. २०३६ साल जेठ ५ गते पञ्चायती निरङ्कुश शासनविरुद्ध सञ्चालन गरिएको किसान आन्दोलनका क्रममा ढल्केबरमै प्रहरीको गोली लागेर मुंगालाल र मोहन महतो शहीद भएका थिए। उनीहरूलाई जनताको हक र अधिकारका लागि लडेका साहसी योद्धाको रूपमा स्मरण गरिन्छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले शहीदहरूको बलिदानलाई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने उद्देश्यले स्मृति भवन र शालिक निर्माण गरिएको बताए। “शहीदहरूले जुन साहस देखाए, त्यो आजको लोकतान्त्रिक आन्दोलनको आधार हो,” उनले भने।
नागरिक अगुवा तथा लेखक रामरिझन यादवले शहीदहरूको सपना समतामूलक, न्यायपूर्ण र स्वाधीन समाज निर्माण गर्नु भएको उल्लेख गर्दै केवल शालिक र भवन निर्माण गरेर कर्तव्य पूरा नहुने बताए। “शहीदको आदर्शलाई व्यवहारमा उतार्न सके मात्र उनीहरूको बलिदानको सम्मान हुन्छ,” उनले जोड दिए।
मुंगालाल मोहन महतो शहीद प्रतिष्ठानका अध्यक्ष रामकुमार महतोका अनुसार स्मृति भवन र शालिक प्रतिष्ठानको आफ्नै जग्गामा निर्माण गरिएको हो। निर्माणमा स्थानीयवासी, प्रदेश सरकार तथा स्थानीय सरकारको आर्थिक सहयोग रहेको उनले जानकारी दिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी तथा शहीद परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्मृति दिवसलाई भव्य र भावनात्मक बनाउने उद्देश्यले श्रद्धाञ्जलि सभा, सांस्कृतिक कार्यक्रम तथा विचार गोष्ठीसमेत आयोजना गरिएको थियो।




प्रतिक्रिया !