सुनिल कुमार साह ,
लोक आवाज ,जनकपुरधाम , ०६ जेष्ठ । धनुषाको कमला नगरपालिकामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा कमला नगरपालिका–२ सराबे टोलका ७ वर्षीय रितिक साह र उनका पाँच वर्षीय भाइ रितिश साह रहेका छन्।
रितिक स्व. रामबाबु साहका छोरा हुन् भने रितिश उनका काका श्यामबाबु साहका छोरा हुन्। दुवै जना दाजुभाइ आज दिउँसो घरबाट खेल्न निस्केका थिए। साँझसम्म पनि उनीहरू घर नफर्किएपछि परिवारले खोजतलास गर्ने क्रममा गाउँकै कृषि बाटो निर्माण स्थलको खाल्डोमा उनीहरूको शव तैरिरहेको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सो कृषि सडक सराबे टोलमा करिब १५ दिनअघि खनिएको हो। खाल्डोमा हालैको वर्षाका कारण पानी जमेको थियो। त्यही खाल्डोमा खेल्ने क्रममा दुवै बालक डुबेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालिएको जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानबाट खाल्डोमा कुनै सुरक्षा मापदण्ड नअपनाइएको र खुल्लै अवस्थामा छाडिएकाले बालकहरू त्यहाँ डुबेको देखिएको छ।
स्थानीयवासीले लापरवाहीपूर्वक छाडिएको खाल्डोका कारण दुर्घटना भएको भन्दै निर्माण कार्यमा संलग्न निकायको ध्यानाकर्षण गराएका छन्। बालमैत्री वातावरण नहुनु र विकास निर्माणका क्रममा सुरक्षाको वेवास्ता गरिनु निराशाजनक भएको उनीहरूको भनाइ छ।
बालबालिकाको जीवन र सुरक्षाप्रति बेपरवाही हुँदा यस्ता दुःखद घटना घटिरहेको भन्दै स्थानीयले दोषी निकायमाथि कारबाहीको मागसमेत गरेका छन्।
यस घटनाले विकास निर्माणका काममा लापरवाही र सुरक्षा उपायहरूको अभाव कति घातक हुन सक्छ भन्ने चेतना दिलाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया !