लोक आवाज ,
जनकपुरधाम , ०४ जेष्ठ ।जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसले परीक्षा सञ्चालनमा कडाइ गर्दै मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। हालै केही परीक्षा केन्द्रमा भएका चोरीका घटनापछि सार्वजनिक रूपमा आलोचना भएको थियो, जसका कारण क्याम्पस प्रशासनले कडाइ अपनाउने निर्णय लिएको हो।
क्याम्पस प्रमुख प्रा. डा. बसन्तकुमार कर्णद्वारा जारी सूचनामा स्नातक तहको चारवर्षे कार्यक्रमको चौथो वर्षको परीक्षामा सहभागी हुने विद्यार्थीहरुले परीक्षा कोठाभित्र मोबाइल फोन ल्याउन नपाउने स्पष्ट उल्लेख गरिएको छ। सूचना अनुसार, परीक्षा व्यवस्थापनमा पारदर्शिता ल्याउने उद्देश्यले उक्त निर्णय गरिएको हो।
“विगतमा पटक–पटक सूचना प्रकाशित गरिए पनि विद्यार्थीहरुले अटेरी गर्दै मोबाइल फोन परीक्षा कक्षमा ल्याउँदै आएका थिए,” क्याम्पस प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ। अबदेखि यदि कुनै परीक्षार्थी परीक्षा कक्षभित्र मोबाइलसहित फेला परेमा तत्काल त्यसलाई जफत गरिनेछ।
प्रशासनले जफत गरिएका मोबाइल सम्पूर्ण परीक्षा सम्पन्न भएपछि मात्र सम्बन्धित विद्यार्थीलाई फिर्ता दिने जनाएको छ। यस नियम उल्लङ्घन गर्ने विद्यार्थीहरूमाथि थप अनुशासनात्मक कारबाहीसमेत गरिने चेतावनी दिइएको छ।

यस निर्णयलाई क्याम्पसका शिक्षक तथा कर्मचारीहरुले सकारात्मक रूपमा लिएका छन्। उनीहरुका अनुसार, पछिल्ला वर्षहरूमा परीक्षा प्रक्रियामा देखिएको लापरवाही तथा मोबाइलको दुरुपयोगले परीक्षा प्रणालीप्रति नै प्रश्न उठिरहेको थियो। यस्तो निर्णयले परीक्षाको मर्यादा कायम राख्न सहयोग पुग्ने उनीहरुको भनाइ छ।
विद्यार्थीहरूमाझ पनि निर्णयको मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले निषेधाज्ञालाई आवश्यक र समयानुकूल बताएका छन् भने केहीले मोबाइलमार्फत अध्ययन सामग्री हेर्न नपाउने भन्दै असहज हुने प्रतिक्रिया दिएका छन्। तर, क्याम्पस प्रशासन भने परीक्षा निष्पक्ष र पारदर्शी बनाउन प्रतिबद्ध रहेको बताउँछ।



प्रतिक्रिया !