लोक आवाज ,
एजेन्सी , ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख विदेश भ्रमणका क्रममा साउदी अरेबिया पुगेका छन्। खाडी राष्ट्रहरूको चारदिने भ्रमण अन्तर्गत उनले कतार र संयुक्त अरब इमिरेट्स (युएई) पनि भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। मंगलबार बिहान ट्रम्प रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई स्वागत गर्न साउदी युवराज मोहम्मद बिन सलमान स्वयम् विमानस्थल पुगेका थिए।
ट्रम्पको यो भ्रमण खाडी क्षेत्रसँग आर्थिक साझेदारी सुदृढ गर्ने मुख्य उद्देश्यले गरिएको हो। साउदी, कतार र युएईजस्ता धनाढ्य खाडी राष्ट्रहरूसँगको व्यापारिक तथा लगानी सम्बन्धलाई प्राथमिकता दिँदै ट्रम्पले अमेरिकामा अरब मुलुकहरूको पूँजी भित्र्याउने रणनीति अघि सारेका छन्। साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलरको लगानी प्रतिबद्धता जनाइसकेको छ भने ट्रम्पले यसलाई १ ट्रिलियन डलरसम्म पुर्याउने महत्वाकांक्षी लक्ष्य अघि सारेका छन्।
रियादमा आयोजना हुने साउदी-अमेरिकी लगानी सम्मेलनमा ट्रम्पले भाग लिने कार्यक्रम छ। सम्मेलनमा एलन मस्क, मार्क जुकरबर्ग र स्याम अल्टम्यानजस्ता विश्व प्रसिद्ध प्रविधि उद्यमीहरूको उपस्थिति पनि रहनेछ। खाडी मुलुकहरूसँगको गहिरिँदो आर्थिक सम्बन्धलाई ट्रम्प प्रशासनले अमेरिकाको दीर्घकालीन हितका रूपमा प्रस्तुत गर्दै आएको छ।
ट्रम्पको आगमनको स्वागत साउदीले निकै भव्य तरिकाले गरेको छ। एयर फोर्स वन साउदी आकाशमा प्रवेश गर्दा साउदी वायु सेनाका एफ-१५ लडाकु विमानहरूले सुरक्षा दिए। रियादका मुख्य सडकहरू अमेरिकी र साउदी झण्डाले सजाइएको थियो भने स्वागत समारोहमा परम्परागत कफी र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। ट्रम्पको सम्मानमा विशेष राजकीय भोज पनि आयोजना गरिएको छ।
यस भ्रमणमा ट्रम्पले इरानको आणविक कार्यक्रम, गाजाको युद्ध र तेल उत्पादनसम्बन्धी रणनीतिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको भए पनि, प्राथमिकता भने आर्थिक साझेदारीमा नै रहने जनाइएको छ। विगतमा क्यानडा, बेलायत वा मेक्सिकोलाई प्राथमिक भ्रमण गन्तव्य बनाउने परम्परा तोड्दै ट्रम्पले पहिलो कार्यकालमा पनि साउदी अरेबियाबाटै विदेश भ्रमण सुरु गरेका थिए।
यद्यपि, ट्रम्पको यसपटकको भ्रमण तालिकाबाट इजरायललाई बाहिर राखिएको छ, जसले अमेरिकाको परम्परागत मित्र राष्ट्रसँगको सम्बन्धमा नयाँ सन्देश दिएको छ। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई राष्ट्रपति भवनमा स्वागत गरिसकेका भए पनि पहिलो औपचारिक विदेश भ्रमणका लागि इजरायललाई समावेश नगर्नु कूटनीतिक दृष्टिकोणले उल्लेखनीय मानिएको छ।
इजरायली अधिकारीहरूले ट्रम्प प्रशासनसँग आफ्नै देशलाई भ्रमण सूचीमा राख्न दबाव दिएको भए पनि, खाडी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिँदा इजरायल सूचिबाहिर रहन पुगेको जनाइएको छ। कतिपय विश्लेषकहरूले साउदी-इजरायल सम्बन्धको संवेदनशीलताका कारण ट्रम्प साउदी भ्रमणपछि इजरायल जान सहज ठान्न नसकेको बताउँछन्।
ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका र हमासबीच इदान अलेक्ज्याण्डर नामक अमेरिकी-इजरायली बन्धकको रिहाइसम्बन्धी प्रत्यक्ष वार्ता भएको थियो, जुन वार्तामा इजरायल सहभागी थिएन। यस्तै, यमनका हुथी विद्रोहीसँगको युद्धविराम सम्झौता र इरानसँगको प्रत्यक्ष संवादमा पनि इजरायली चासोको समावेश नभएको भन्दै नेतन्याहु प्रशासन आश्चर्यचकित भएको थियो।
ट्रम्पका निकटतम वार्ताकार स्टिभ विट्कफले गाजामा युद्धविराम र बन्दी अदलाबदलमा नेतन्याहुको अनिच्छालाई लिएर आलोचना गरेपछि दुई देशबीचको सम्बन्ध झन चिसिएको देखिन्छ। यद्यपि नेतन्याहु अप्रिलमा ह्वाइट हाउसको पुनः भ्रमणमा गएका थिए, तर अहिलेसम्म कुनै ठोस सम्झौता सार्वजनिक भएको छैन।
यो सम्पूर्ण परिदृश्यले ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी कूटनीति अर्थनीतिमै केन्द्रित हुने संकेत दिएको छ, जसमा साउदी जस्ता पूँजी सम्पन्न राष्ट्रहरू इजरायलभन्दा अग्रपंक्तिमा देखिन्छन्।




प्रतिक्रिया !