लोक आवाज ,
काठमाडौँ, वैशाख २९। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको सन्देश आजको विश्व परिप्रेक्ष्यमा अझ सान्दर्भिक रहेको बताएका छन्। लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले मानवता, करुणा र अहिंसाका सिद्धान्तले आजको तनावपूर्ण विश्वमा मार्गदर्शन गर्न सक्ने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानबीच हालै उत्पन्न तनावलाई उदाहरण दिँदै आफूहरूको संयमता र कूटनीतिक पहलले द्वन्द्वको जोखिम टरेको दाबी गरे। “भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्यौँ,” उनले भने, “बुद्धका सन्देशहरू यस्ता क्षणहरूमा अत्यन्तै उपयोगी हुन्छन्।”
उनको उक्त भनाइले नेपालको क्षेत्रीय भूमिका र कूटनीतिक दृष्टिकोणलाई पनि संकेत गर्दछ। पछिल्ला दिनमा भारत–पाकिस्तान सम्बन्ध फेरि तनावग्रस्त बनेको बेलामा प्रधानमन्त्रीको यो अभिव्यक्तिले व्यापक चर्चा पाउन थालेको छ।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा शान्ति, सहिष्णुता र अन्तर्राष्ट्रिय समझदारीका लागि बुद्धका सन्देशलाई आत्मसात् गर्न आग्रह गरे। “बुद्धका उपदेशहरू विश्व मानव अस्तित्वको रक्षा र पृथ्वीको सुरक्षाका लागि आज पनि उत्तिकै जरुरी छन्,” उनले भने।
उनले लुम्बिनीको महत्वलाई स्मरण गराउँदै विश्वव्यापी शान्तिका लागि यस पवित्रस्थलको भूमिकाबारे जोड दिए। “बुद्ध जन्मेको भूमिबाट हामी शान्ति र अहिंसाको सन्देश फैलाउन चाहन्छौं। यो हाम्रो ऐतिहासिक जिम्मेवारी हो,” ओलीले भने।
उनले अझ भने, “आज मानवता संकटमा छ। द्वन्द्व, हिंसा र असहिष्णुताले विश्वको अवस्था चिन्ताजनक बनाएको छ। यस्तो अवस्थामा बुद्धका करुणा र शान्तिका उपदेशहरूलाई आत्मसात् गर्नु नै सबैभन्दा उपयुक्त उपाय हो।”
प्रधानमन्त्री ओलीले लुम्बिनी विकासमा सरकारले विशेष प्राथमिकता दिएको पनि उल्लेख गरे। “लुम्बिनीको अन्तर्राष्ट्रियकरण, पूर्वाधार विकास र विश्व सम्पदाको रूपमा यसको प्रवर्द्धनमा हाम्रो सरकार दृढ छ,” उनले भने।
उनको सम्बोधनमा नेपालले विश्वशान्तिमा योगदान पुर्याउने चाहना स्पष्ट देखिन्थ्यो। साथै, बुद्ध जयन्तीको सन्दर्भमा उनले सबैलाई सहिष्णुता, भाइचारा र प्रेमको भावना फैलाउन आग्रह गरे।
कार्यक्रममा विभिन्न देशका राजदूत, बुद्ध धर्मावलम्बी, बौद्ध संघसंस्था, लुम्बिनी विकास कोषका पदाधिकारी र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा शान्तिको प्रतीकका रूपमा विशेष प्रार्थना, दीप प्रज्वलन, र बौद्ध भजन प्रस्तुत गरिएको थियो।




प्रतिक्रिया !