पूर्वराजाहरूको आलोचना गर्दै प्रधानमन्त्री ओलीको आरोप– ‘देश कंगाल बनाउने उनीहरू नै हुन्’

 पूर्वराजाहरूको आलोचना गर्दै प्रधानमन्त्री ओलीको आरोप– ‘देश कंगाल बनाउने उनीहरू नै हुन्’

 

लोक आवाज ,

काठमाडौँ , २७ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई पछाडि पार्ने कार्य पूर्वराजाहरूबाट भएको गम्भीर आरोप लगाएका छन्। शनिबार राजधानी काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भने, “देशलाई आजको जमानासम्म गरिब बनाउनेहरू नै अहिले फेरि फर्कन खोजिरहेका छन्, यो अत्यन्त अचम्मको विषय हो।”

 

उनले पूर्वराजाहरूको शासनकालमा जनताको अवस्था दयनीय रहेको र समृद्धिका अवसरहरू खोसिएको उल्लेख गरे। “अचम्म त के भने,” प्रधानमन्त्री ओलीले भने, “देशलाई कंगाल बनाउने, जनतालाई अभावमा राख्ने, जनताका अधिकार खोस्ने, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत सुविधाबाट वञ्चित गर्नेहरू अहिले हामी आउनुपर्छ भनेर प्रचारमा लागेका छन्।”

 

उनले विशेषगरी ज्ञानेन्द्र शाहको हालको राजनीतिक गतिविधिलाई लक्षित गर्दै प्रतिकूल टिप्पणी गरेका हुन्। पूर्वराजा शाहले पछिल्लो समय जनतामाझ केही कार्यक्रममा सहभागी हुँदै ‘राजसंस्थाको पुनर्स्थापनाका लागि जनसमर्थन आवश्यक छ’ भन्ने आशयका वक्तव्य दिँदै आएका छन्। यसै सन्दर्भमा प्रधानमन्त्री ओलीको टिप्पणी आएको हो।

 

प्रधानमन्त्री ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायजस्ता आधारमा नयाँ नेपाल निर्माण भइरहेको उल्लेख गरे। उनले देशले पछिल्ला ३० वर्षमा ऐतिहासिक विकास गरेको दाबी गर्दै यसलाई कोल्टे फेर्ने परिवर्तनको युग भने। “अहिलेको नेपालको प्रगति तथ्यांकले नै देखाउँछ। हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सडक, ऊर्जा, सञ्चारलगायत क्षेत्रमा उल्लेखनीय फड्को मारेका छौँ,” उनले दाबी गरे।

 

ओलीले आफ्ना आलोचकहरूलाई सम्बोधन गर्दै भने, “विकास देख्दा तिनलाई आँखा चिम्लन मन लाग्छ। सायद तिनलाई देशले उन्नति गर्नु मन परेको छैन होला।” उनले जनतालाई प्राप्त अधिकारहरू र वर्तमान उपलब्धिहरूको रक्षा गर्न सबै नागरिक सचेत हुनुपर्ने बताए।

 

प्रधानमन्त्री ओलीले वन क्षेत्रको संवर्द्धनमा पनि जोड दिँदै वर्तमान सरकारले वातावरण संरक्षण, जैविक विविधता र दिगो विकासका विषयमा स्पष्ट नीति लिएको बताए। उनले वन क्षेत्रलाई मात्र हरियो बनाउने नभई, जनताको जीवन पनि हरियो र समृद्ध बनाउने दिशामा सरकार क्रियाशील रहेको धारणा राखे।

 

गोष्ठीमा वन तथा वातावरण मन्त्रालयका अधिकारीहरू, विभिन्न प्रदेशका मन्त्रीहरू, विज्ञहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्रीले देशको विगत, वर्तमान र भविष्यलाई तुलना गर्दै जनताले इतिहासबाट सिकेर अगाडि बढ्नुपर्ने बताए।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार