भारत–पाकिस्तान तनावमा चीनको चासो, शान्तिका लागि संवाद र संयमको आह्वान

भारत–पाकिस्तान तनावमा चीनको चासो, शान्तिका लागि संवाद र संयमको आह्वान

 

 

एजेन्सी , २७ बैशाख  । भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा तीव्र बनेको द्वन्द्व र तनावप्रति छिमेकी महाशक्ति चीनले गम्भीर चिन्ता व्यक्त गरेको छ। दक्षिण एशियाली क्षेत्रमा यसले गम्भीर अस्थिरता ल्याउने भन्दै चीनले दुवै देशलाई संयमित बन्न र समस्या शान्तिपूर्ण ढङ्गले समाधान गर्न आग्रह गरेको हो।

 

शनिबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमार्फत चीनको विदेश मन्त्रालयले एक औपचारिक वक्तव्य जारी गर्दै भारत–पाकिस्तानबीचको तनाव शान्तिपूर्ण राजनीतिक संवादबाट समाधान गर्न सकिने धारणा राखेको छ। चीनले स्पष्ट शब्दमा भनेको छ, “युद्ध वा हिंसाले समस्या समाधान हुँदैन, बरु यसले जनजीवनमा विनाश मात्र ल्याउँछ। त्यसैले दुवै पक्ष संयमित भएर संवादमा आउनुपर्छ।”

 

चीनले क्षेत्रीय शान्ति, स्थायित्व र सुरक्षा सुनिश्चित गर्नु वर्तमान विश्व सन्दर्भमा सबैको साझा जिम्मेवारी भएको बताउँदै दक्षिण एशियामा फेरि द्वन्द्व चर्किनु नदिन दुवै पक्षलाई गम्भीर र जिम्मेवार भूमिका निर्वाह गर्न पनि सुझाव दिएको छ।

 

चीनले भारत र पाकिस्तानबीचको तनावलाई घटाउने दिशामा आफु तयार रहेको सन्देश पनि दिएको छ। “बेइजिङ शान्ति स्थापना प्रक्रियामा रचनात्मक भूमिका खेल्न इच्छुक र सक्षम छ,” वक्तव्यमा उल्लेख गरिएको छ। चीनले विश्वका अन्य मुलुकलाई पनि दुवै देशलाई वार्तामा ल्याउन सहयोग गर्न आग्रह गरेको छ।

 

भारत र पाकिस्तानबीचको पछिल्लो तनाव गत साता एक सैन्य झडपपछि चर्किएको हो। भारतले पाकिस्तानको सीमावर्ती क्षेत्रमा गरेको आक्रमणलाई चीनले प्रारम्भिक रूपमा नै निन्दा गरेको थियो। चीनले यस प्रकारको एकपक्षीय सैन्य कारबाहीले शान्ति प्रक्रिया विथोलिने र स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिएको छ।

 

उल्लेखनीय छ कि चीनको भारत र पाकिस्तान दुवै देशसँग सीमा जोडिएको छ, र यी दुई मुलुकसँग व्यापार, सुरक्षा, र कूटनीतिक सम्बन्ध रहेका छन्। चीन हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो र क्षेत्रीय राजनीतिको एउटा सशक्त कूटनीतिक केन्द्र बनेको छ।

 

चीनको यो चासो र सक्रियताले क्षेत्रीय शान्ति स्थापनामा कति प्रभाव पार्छ भन्ने समयले देखाउनेछ। तर शान्तिपूर्ण समाधानका लागि उसको आग्रहले भारत र पाकिस्तानलाई दह्रो सन्देश दिएको विश्लेषकहरू बताउँछन्। यदि चीनले सफल कूटनीतिक पहल गर्न सक्यो भने दक्षिण एशियाली भू–राजनीतिमा उसको प्रभाव अझ सशक्त बन्ने देखिन्छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार