भारत–पाकिस्तान तनावबीच चिनियाँ दूतावासको अनुरोध : ‘नेपाल–भारत सीमा ननजिकिनु’

भारत–पाकिस्तान तनावबीच चिनियाँ दूतावासको अनुरोध : ‘नेपाल–भारत सीमा ननजिकिनु’

 

 

 

काठमाडौँ , २६ बैशाख ।  भारत र पाकिस्तानबीचको बढ्दो तनावलाई ध्यानमा राख्दै नेपालस्थित चिनियाँ राजदूतावासले आफ्ना नागरिकहरूलाई नेपाल–भारत सीमा क्षेत्रतर्फ नजान आग्रह गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै दूतावासले वर्तमान क्षेत्रीय सुरक्षालाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।

 

विज्ञप्तिमा भनिएको छ, “हाल भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण छ। यस्तो अवस्थामा हाम्रो सल्लाह छ कि हाम्रा नागरिकहरूले नेपाल–भारत सीमावर्ती क्षेत्रतर्फ यात्रा नगर्नुहोस्।” दूतावासले भारतको भिसा प्राप्त गरेका नागरिकहरूलाई समेत भारतीय भूमिमा जानु जोखिमपूर्ण हुनसक्ने भन्दै यात्रा स्थगन गर्न सुझाव दिएको छ।

 

त्यसका साथै, चिनियाँ दूतावासले सीमा क्षेत्रमा कुनै किसिमका तस्बिर नखिच्न र संवेदनशील गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। यस्ता कार्यले स्थानीय सुरक्षा निकायको ध्यान आकर्षित गर्ने र थप समस्याको कारण बन्न सक्ने बताइएको छ।

 

दूतावासले नेपालमा रहेका चिनियाँ पर्यटक तथा व्यवसायीहरूलाई सम्भावित जोखिमबाट जोगिन सबै आवश्यक सतर्कता अपनाउन र आपत्कालीन अवस्थाका लागि दूतावाससँग सम्पर्कमा रहन समेत अनुरोध गरेको छ।

 

हालै भारत–पाकिस्तानबीचको सैन्य र कूटनीतिक तनाव चर्किएको छ, जसको असर क्षेत्रीय शान्तिमा पनि पर्न थालेको विश्लेषण भइरहेको छ। यस्तो अवस्थामा नेपालजस्तो खुला सीमासहितको देशमा सुरक्षासम्बन्धी सजगता झनै आवश्यक ठानिएको छ।

 

यसरी चिनियाँ दूतावासको सतर्कता आह्वानले नेपालमा रहेका अन्तर्राष्ट्रिय समुदायमा क्षेत्रीय संकटप्रति गम्भीर चिन्ता बढेको सङ्केत गरेको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार