भारत–पाकिस्तान तनावबीच भारतीय राजदूतको प्रधानमन्त्री ओलीसँग भेट, नेपालले भूमि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍यायो

भारत–पाकिस्तान तनावबीच भारतीय राजदूतको प्रधानमन्त्री ओलीसँग भेट, नेपालले भूमि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍यायो

 

लोक आवाज 

काठमाडौँ  २६ बैशाख । भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावको पृष्ठभूमिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशबीचको पछिल्लो परिस्थितिबारे छलफल भएको जनाइएको छ।

 

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल सधैं शान्तिपूर्ण विदेश नीति र असंलग्नताको मार्गमा प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए। उनले नेपाल कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने अडानमा दृढ रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले भने, “हामी शान्ति, स्थिरता र आपसी सम्मानमा आधारित क्षेत्रीय सहकार्यमा विश्वास गर्छौं।”

 

यसअघि बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपालको स्पष्ट समर्थन जनाइसकेको थियो। मन्त्रालयले कुनै पनि प्रकारको हिंसा वा आतंककारी गतिविधिको विरोध गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वमा नकारात्मक असर पार्ने चेतावनी दिएको थियो।

 

भारतीय राजदूत श्रीवास्तवले भने भारतको सुरक्षा चिन्ताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। भारतले पाकिस्तानमाथि आतंकवादी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै आएको छ। पछिल्ला दिनमा दुई देशबीच कूटनीतिक तनाव चर्किंदै गएको छ, जसले दक्षिण एसियाली क्षेत्रमा असहज परिस्थिति सिर्जना गरिरहेको छ।

 

प्रधानमन्त्री र राजदूतबीचको भेटलाई क्षेत्रीय सुरक्षासम्बन्धी मुद्दामा नेपालले खेल्न सक्ने सन्तुलित भूमिका र कूटनीतिक सक्रियताको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार