एजेन्सी २६ बैशाख । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएल २०२५ का बाँकी खेलहरू अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। यस सिजनको फाइनल खेल मे २५ मा कोलकातामा हुने तय गरिएको थियो, तर हालसम्म ७४ मध्ये ५७ खेल मात्र सम्पन्न भएका छन्। बाँकी खेलहरू कहिले हुने भन्नेबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।
बिहीबार धर्मशालामा आयोजित पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल सुरक्षा कारणले रोकिएको थियो। भारत–पाकिस्तान तनावका कारण धर्मशालामा ब्ल्याकआउट गरिएको थियो, जसको प्रत्यक्ष असर खेलमा देखियो। खेल रोकिँदा पंजाब किंग्सले १० ओभर १ बलमा १ विकेट गुमाउँदै १२२ रन बनाइसकेको थियो। त्यसपछि खेलाडी र स्टाफलाई सुरक्षित स्थानमा सारिएको थियो।
वर्तमान परिस्थितिमा धेरै विदेशी खेलाडीहरूले सुरक्षा चिन्ता व्यक्त गरेका थिए। बीसीसीआईले उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गर्ने निर्णय लिएको हो।




प्रतिक्रिया !