लोक आवाज ,
काठमाडौं , २४ बैशाख —पाकिस्तानसँगको सैन्य तनाव चुलिँदै गएपछि भारतले सोमबारदेखि देशव्यापी नागरिक सुरक्षा अभ्यास (सिभिल डिफेन्स मोक ड्रिल) सुरु गरेको छ। भारतका गृहमन्त्रालयको निर्देशनमा सुरु गरिएको यो अभ्यासका उद्देश्यहरू नागरिकहरूलाई सम्भावित हवाई आक्रमण, आपतकालीन अवस्थाहरू तथा संकट व्यवस्थापनको तालिम दिनु रहेको छ।
यो अभ्यास भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि सुरु गरिएको हो। अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंककारी हमलामा २६ जनाको मृत्यु भएपछि भारतले “अपरेसन सिन्दूर” अन्तर्गत पाकिस्तानका नौवटा आतंककारी शिविरमा आक्रमण गरेको थियो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अभ्यासमार्फत नागरिकहरूलाई हवाई आक्रमणमा कसरी बच्ने, विद्युत् आपूर्ति बन्द हुँदा के गर्ने, आपतकालीन उद्धार कसरी गर्न सकिने, र सुरक्षित स्थानमा कसरी स्थानान्तरण गरिने भन्ने विषयमा तालिम दिइनेछ। साथै, महत्वपूर्ण पूर्वाधारहरूको सुरक्षा, क्यामुफ्लाज (ढाकछोप) प्रविधिको प्रयोग र आपतकालीन योजनाको अद्यावधिक गर्ने अभ्यास पनि समावेश गरिएको छ।
राजधानी दिल्लीमा ५५ स्थानमा अभ्यास
अभ्यास ‘अपरेसन’ अन्तर्गत भारतको राजधानी दिल्लीमा ५५ स्थानमा सिभिल डिफेन्स अभ्यास गरिएको छ। दिउँसो ४ बजे ६० वटा हवाई आक्रमण साइरन बजाएर अभ्यासको सुरुवात गरिएको हो। विद्यालयहरूमा शिक्षक तथा विद्यार्थीलाई विपद् व्यवस्थापन तालिम दिइएको छ।
अन्य राज्यहरूमा व्यापक तालिम
दिल्लीबाहेक, महाराष्ट्र, उत्तर प्रदेश, केरल, र गुजरातका विभिन्न स्थानहरूमा पनि यो अभ्यास विस्तार गरिएको छ। उत्तर प्रदेशका सबै जिल्लाहरूमा प्रहरी, दमकल, विपद् प्रतिक्रिया बल, र स्थानीय प्रशासनको समन्वयमा अभ्यास भइरहेको छ। राजधानी लखनऊमा बम विस्फोटको नक्कली परिदृश्य निर्माण गरेर सुरक्षा बलले प्रतिक्रिया अभ्यास गरिरहेका छन्।
बरेलीमा साँझ ८ बजेदेखि ८:१० बजेसम्म १० मिनेटको ‘ब्ल्याकआउट’ अभ्यास गरिएको छ। यस अवधिमा बत्ती निभाइने र मानिसहरूलाई अन्धकारमा कसरी व्यवहार गर्ने भनेर अभ्यास गराइएको छ।
दशकौं पछिको सबैभन्दा ठूलो नागरिक सुरक्षा अभ्यास
भारतीय गृह मन्त्रालयका अनुसार यो अभ्यास पछिल्ला दशकौंमा गरिएको सबैभन्दा ठूलो नागरिक सुरक्षा अभ्यास हो। यसले आम नागरिकलाई संकटको समयमा सुरक्षाको मूलभूत ज्ञान प्रदान गर्ने लक्ष्य लिएको छ। नागरिकहरूलाई सरकारी निर्देशनको पालना गर्दै स्वेच्छिक रूपमा अभ्यासमा सहभागी हुन आह्वान गरिएको छ।
विशेषज्ञहरूका अनुसार, यस्तो अभ्यासले सैनिक तनावका बेला नागरिकहरूको मनोबल बलियो बनाउने र आकस्मिक घटनाहरूमा क्षति न्यूनिकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !